राष्ट्रिय सतर्कता केन्द्र सातै प्रदेशमा खटायो छड्को टोली
काठमाडौं। राष्ट्रिय सतर्कता केन्द्रले सातै प्रदेशमा छड्के अनुगमन टोली खटाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आएपछि केन्द्र निकै सक्रिय भएको पाइन्छ। उक्त केन्द्रले संघदेखि स्थानीय तहका कार्यालयमा नियमित अनुगमन गरिरहेको हो।
राष्ट्रिय सतर्कता केन्द्रका प्रवक्ता नारायणप्रसाद भट्टले सातौं प्रदेशमा टोली खटाइएको पुष्टि गरे। कुनै प्रदेशमा उपसचिव र कुनैमा अधिकृतको नेतृत्वमा टोली खटाइएको उनले बताए।
राष्ट्रिय सतर्कता केन्द्रले प्रदेशका मन्त्रालय, कार्यालय, आयोजना र स्थानीय तहहरूको छड्के निरीक्षण गर्न थालेको छ। सिंहदरबारमा समेत केन्द्रले नियमित छड्के हानिरहेको छ। समय पालन भए/नभएको, कुर्सीमा बसे/नबसेको, तोकिएको पोशाक लगाए/नलगाएको, तोकिएको जिम्मेवारी पूरा गरे/नगरेको विषयमा केन्द्रले नियमित छड्के अनुगमन गरिरहेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केन्द्रले विभिन्न कार्यालयको दैनिक रिपोर्टिङ गरिरहेको छ। केन्द्र अनुगमनका लागि संघमा मात्र सीमित नभइ प्रदेश र स्थानीय तहमा समेत पुग्न थालेको हो।
कर्मचारीलाई अनुशासन र मर्यादामा राख्न बालेन सरकारले केन्द्र मार्फत छड्के अनुगमन गरेर एक्सन लिने काम सुरू गरेको छ। बालेन सरकारले केन्द्रलाई सक्रिय गराएसँगै केन्द्रका कर्मचारी पनि भ्याइनभ्याइ अवस्थामा छन्। बालेन सरकारले केन्द्रलाई धार लगाएकाले लाग्ने हतियार जस्तो भएको टिप्पणी समेत हुन थालेको छ। केन्द्रको सक्रियासँगै कामचोर कर्मचारीहरू धमाधम कारबाहीको दायरामा आउन थालेका छन्। राष्ट्रिय सतर्कता केन्द्र एकाएक सक्रिय भएपछि कर्मचारीहरूको निद हराम भएको हो।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस