ललितपुरको प्रमुख प्रशासकीय अधिकृतमा रेखाको दुई वर्ष पूरा, काठमाडौंका गुरागाईं दुई वर्ष नपुगी घर जाने


काठमाडौं। ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठको दुई वर्ष पूरा भइसकेको छ। उनी ललितपुर महानगरपालिकामा सरूवा अवधि पूरा गर्न सफल भएकी छिन्। २०८१ बैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले रेखालाई ललितपुरको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा गरेको थियो। रेखा ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनेको पच्चिस महिना हुन लागेको छ।

ललितपुर महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारतीलाई भरतपुर महानगरपालिका पठाएर रेखालाई ललितपुर पठाइएको थियो। भारती भ्रष्टाचार मुद्दा लागेर निलम्बन हुँदै सफाइ पाएर विभिन्न कार्यालय चाहर्दै फेरि भरतपुर महानगरपालिका पुगेका छन्।

काठमाडौं महानगरपालिकाका प्रदिय परियार हटेर सरोजप्रसाद गुरागाईं आएको पनि हुई वर्ष पुग्न लागिसक्यो। रेखा सरोजभन्दा अघि ललितपुर पुगेकी हुन्। रेखाले ललितपुरमा दुई वर्ष शानदार ढंगले प्रमुख प्रशासकीय अधिकृत चलाएकी छिन्।

यता काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुई वर्ष पूरा नहुँदै घर जाने भएका छन्। २०८१ भदौ ३० गते गुरागाईं काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनेर गएका थिए। ५८ वर्ष पूरा भएर साउन २० गते नै उनी अनिवार्य अवकाशमा जाने अवस्था देखिन्छ। काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर (हालका प्रधानमन्त्री) बालेन्द्र शाह (बालेन)सँग टक्कर परेर जबर्जस्ती हाजिर भएका गुरागाईं महानगरबाटै घर जाने दाउमा रहेका छन्। उनको साउन २० अगाडि सरूवा भएन भने त्यतैबाट घर जानेछन्।

तत्कालीन सरकारले काठमाडौं महानगरपालिकामा युवा खोजेर प्रदीप परियार र ललितपुरमा रेखा दास श्रेष्ठलाई पठाएको थियो। प्रदीपको छोटो समयमै काठमाडौं महानगरपालिकाबाट सरूवा भयो। रेखाले पूरा अवधि ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चलाइन्। अवस्था हेर्दा काठमाडौं र ललितपुर महानगरपालिकाले एकसाथ नयाँ प्रशासकीय अधिकृत पाउने छाँट देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #रेखा दास, #सरोजप्रसाद गुरागाईं

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ