सामान्य प्रशासन मन्त्रालयको कार्यक्षेत्रमा रहेका ६ आयोग महिला मन्त्रालयतिर पुगे
काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यक्षेत्रभित्र रहेका ६ वटा आयोग महिला मन्त्रालयतिर पुगेका छन्। नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ थप ६ वटा आयोग महिला मन्त्रालयतिर पुगेका हुन्। पहिले महिला आयोग मात्रै हेर्दै आएको उक्त मन्त्रालयले अहिले राष्ट्रिय महिला आयोगसहित, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारू आयोग र मुस्लिम आयोग समेत हेर्नु पर्ने भएको छ। सबै अन्य आयोगहरू महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको कार्यक्षेत्रमा हालिएको हो।
नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४ मा राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारू आयोग र मुस्लिम आयोग साबिकको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यक्षेत्रमा राखिएको थियो। नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ जारी भएपछि ती आयोगहरू सरेर महिला मन्त्रालयतिर पुगेका हुन्। राष्ट्रिय महिला आयोगबाटै वाक्कदिक्क भइसकेको उक्त मन्त्रालयसँग थप ६ वटा आयोग हेर्ने कार्यक्षेत्र विस्तार भएको हो।
साबिकको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अहिले ‘मर्ज’ भएर भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बनेको छ। महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जेष्ठ नागरिक हटेर महिला, बालबालिका, लैगिङ्क तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय बनेको हो। उक्त मन्त्रालय कार्यक्षेत्र समेत व्यापक रूपमा विस्तार भएको छ। संविधानमा उल्लेखित राष्ट्रिय महिला आयोगसहित सबै अन्य आयोगको सम्पर्क मन्त्रालय महिला, बालबालिका, लैगिङ्क तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई तोकिएको हो।


तपाईको प्रतिक्रिया दिनुहोस