संसद भवन–१ मा स्वास्थ्य मन्त्रालय सर्न अझै कम्तीमा ६ महिना लाग्ने


काठमाडौं । मन्त्रिपरिषद्ले संसद भवन–१ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई उपलब्ध गराउने निर्णय गरिसकेको भए पनि उक्त भवनमा मन्त्रालय सर्न अझै कम्तीमा छ महिना लाग्ने भएको छ।

संघीय संसद्को नयाँ भवन निर्माण सम्पन्न भएपछि हाल संसद सचिवालयले प्रयोग गर्दै आएको संसद भवन–१ स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्ने निर्णय गत वैशाख ३० गतेको मन्त्रिपरिषद् बैठकले गरेको थियो। भवनको लालपुर्जा मन्त्रालयको नाममा आउने प्रक्रिया अघि बढे पनि संसद सचिवालयको व्यवस्थापन तथा स्थानान्तरणका काम सम्पन्न गर्न समय लाग्ने भएकाले तत्काल भवन खाली नहुने सचिवालय स्रोतले जनाएको छ।

स्वास्थ्य मन्त्रालय भने लामो समयदेखि आफ्नै भवनविहीन अवस्थामा छ। जेनजेड आन्दोलनका क्रममा रामशाहपथस्थित मन्त्रालयको भवन जलेर नष्ट भएपछि मन्त्रालयका कर्मचारीहरू सिंहदरबारभित्र अस्थायी संरचना र खुला चौर क्षेत्रमा बसेर सेवा प्रवाह गरिरहेका छन्।

सरकारको निर्णयसँगै मन्त्रालयले स्थायी कार्यालय पाउने आशा बढेको छ। तर संसद सचिवालयको स्थानान्तरण प्रक्रिया सकिन कम्तीमा छ महिना लाग्ने भएकाले मन्त्रालयले तत्काल नयाँ भवनको सुविधा भने पाउने छैन। यस अवधिमा मन्त्रालयका कर्मचारीहरू हाल बसिरहेको अस्थायी स्थानमै काम गर्न बाध्य हुनेछन्। विशेषगरी वर्षायाममा डुबान तथा अन्य जोखिमको चिन्ता यथावत रहने देखिएको छ।

संसद भवन–१ चार तलाको व्यवस्थित भवन हो। भवन परिसरमा सभामुख सचिवालयका लागि प्रयोग हुँदै आएका आकर्षक संरचना, फराकिला चौर, हरियालीयुक्त बगैंचा तथा पर्याप्त खुला क्षेत्र रहेका छन्। सिंहदरबारभित्रकै सुन्दर र सुविधासम्पन्न परिसरमध्ये एक मानिने उक्त भवन स्वास्थ्य मन्त्रालयका कर्मचारीहरूका लागि पर्याप्त कार्यस्थल बन्न सक्ने अपेक्षा गरिएको छ।

सरकारको निर्णयपछि मन्त्रालयभित्र नयाँ भवनमा कहिले सर्न पाइएला भन्ने चासो बढ्दै गएको छ। यद्यपि संसद सचिवालयको स्थानान्तरण प्रक्रिया पूरा नभएसम्म स्वास्थ्य मन्त्रालयले नयाँ भवनको प्रतीक्षा गर्नुपर्ने अवस्था रहेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ