प्रधानमन्त्री कार्यालयको अतिरिक्तमा हाजिर भए विवादित सचिव कर्ण


काठमाडौं। उपराष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्तमा सरूवा भएका विवादित सचिव कृष्णहरि पुष्कर कर्ण हाजिर भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई मुख्यसचिव वा राजदूत बार्गेनिङ गरेर अनुचित ‘म्यासेज’ पठाएपछि सचिव कर्ण प्रहरी केरकारमा परेका थिए। त्यसपछि उपराष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा उनको सरूवा गरिएको थियो। अतिरिक्तमा तानिएका सचिव कर्णले नैतिकता देखाएर राजीनामा दिन्छन् भन्ने धेरैले आँकलन गरेका थिए। तर, सचिव कर्ण निर्लज्ज भएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हाजिर भएका छन्।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा सरूवा भएका सचिव डिल्लीराम पनि अतिरिक्तमा हाजिर भइसकेका छन्। खारेज भएको युवा तथा खेलकुद मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा सरुवा भएका लोकनाथ पौड्याल समेत हाजिर भइसकेका छन्। उनीहरूलाई एउटै कोठामा बस्ने व्यवस्था मिलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले बतायो।

सार्वजनिक खरिद अनुगमन कार्यालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा तानिएका सचिव हरिप्रसाद मैनालीको भने उक्त कार्यालयको वेबसाइटबाट फोटो हटेको छैन। कृषि, वन तथा पर्यावरण मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्तमा सरुवा भएका गोविन्दप्रसाद शर्माको पनि वेबसाइटबाट फोटो हटिसकेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्तमा तानिएका निलम्बित सचिव डण्डुराज घिमिरे भने हाजिर हुन पाउने छैनन्। विवादित सचिव कर्णसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा ल्याइएका अधिकांश सचिव हाजिर भइसकेका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ