राहदानी खरिद भ्रष्टाचार प्रकरण
नयाँदिल्लीस्थित नेपाली राजदूतावासका दुई उपसचिव निलम्बित
काठमाडौं। राहदानी खरिदमा भ्रष्टाचारमा भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासका दुई उपसचिव निलम्बनमा परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी खरिद प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा कार्यरत उपसचिवद्वय भेषप्रसाद भुर्तेल र रवीन्द्र राजभण्डारी निलम्बनमा परेका हुन्। भुर्तेल र राजभण्डारी नयाँदिल्लीस्थित नेपाली राजदूतावास पुगेको एक वर्ष पनि नपुगीकन भ्रष्टाचार मुद्दामा डामिएर निलम्बनमा परेका छन्।
अख्तियारले राजभण्डारी र भुर्तेलविरुद्ध १८ करोड ४४ लाख ८ हजार ८ सय ८७ रुपैयाँ बिगो मागदाबी गरेको छ। राहदानी विभागका तत्कालीन निर्देशक राजभण्डारी र परराष्ट्र मन्त्रालयको तत्कालीन लेखा उपसचिव भुर्तेललगायतको मिलेमतोमा जर्मन कम्पनीहरूलाई राहादानीको ठेक्का दिएर विभागलाई हानिनोक्सानी पुऱ्याएको अख्तियारको निष्कर्ष छ।
रवीन्द्र परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारीका सहोदर भाइ समेत हुन्। उनीहरूको परराष्ट्र मन्त्रालयमा बढी नै हालिमुहाली चल्ने गरेको चर्चा हुँदै आएको छ। रवीन्द्र विभागबाटै दिल्ली पुगेका थिए। निलम्बनमा परेपछि उनी नेपाल फर्किने तयारीमा छन्।
परराष्ट्र मन्त्रालयबाट राहादानी खरिदको चाँजोपाँजो मिलाउन सक्रिय भूमिका खेलेका भेषप्रसाद भुर्तेल हाल दिल्लीस्थित नेपाली राजदूतवासका लेखा उपसचिव हुन्। राहदानी खरिद प्रक्रियामा सहजीकरण गरेर ढिलागरी उनी दिल्ली पुगेका थिए। राहादानी विभागका महानिर्देशक तीर्थराज अर्यालसँगै राहदानी खरिद भ्रष्टाचारमा डामिएपछि लेखा उपसचिव भुर्तेल पनि निलम्बनमा परेर स्वदेश फर्कनु पर्ने अवस्थामा पुगेका हुन्।
मन्त्रालयलयको प्रतिनिधि तथा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवा र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको ‘म्यासेन्जर’का रूपमा उनी राहादानीको ठेक्का व्यवस्थापन गर्न सक्रिय रहेको आरोप लाग्दै आएको छ। ओलीका ‘भान्जे-ज्वाईँ’ नाता बताउने उनले अख्तियार, विज्ञ, खरिद पुनरावलोकन समिति सबैतिर राहदानी खरिद प्रकरणमा सहजीकरण गरेको चर्चा चल्ने गरेको छ। सार्वजनिक खरिद ऐनले विभागको लेखा प्रमुखबाहेक अरूलाई नचिल्ने भएपनि उनी विज्ञको रूपमा मूल्यांकन समितिमा सहभागी भएको पाइन्छ। साठ्ठीसाले चल्तापुर्जा लेखा उपसचिव भनेर परिचित भुर्तेलको गठ्ठा घरमा पाँच तले घर रहेको छ। नयाँदिल्लीस्थित नेपाली राजदूतावास गएको एक वर्ष नहुँदै भुर्तेल भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका छन्। उनी निलम्बनमा परेसँगै स्वदेश फर्किन रवीन्द्र साथी पाएका हुन्।
अख्तियारले राहदानी खरिदमा १० अर्ब बढी भ्रष्टाचार भएको आरोप लगाएको छ। अख्तियारले राहदानी खरिद घोटालामा १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बिगो दाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। परराष्ट्र मन्त्रालयसँग जोडिएको यो ठूलो भ्रष्टाचार मुद्दा हो।
क्याटेगोरी : समाचार
ट्याग : #भेषप्रसाद भुर्तेल, #रवीन्द्र राजभण्डारी


तपाईको प्रतिक्रिया दिनुहोस