१० वर्षदेखि भूमिमै रजगज गरिरहेका उपसचिव रोशनशङ्कर घिमिरे


काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा एक उपसचिवको १० वर्षदेखि एकछत्र रजगज चलिरहेको छ। २०७२ साल चैत ६ गते नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहको उपसचिवमा बढुवा भएका घिमिरे १ वर्षबाहेक भूमि व्यवस्थामै रजगज गरिरहेका छन्। जग्गा प्रशासन शाखाका प्रमुख घिमिरे भूमिका हर्ताकर्ता उपसचिव हुन्।

उपसचिव भएको साढे १० वर्षको अवधिमा घिमिरे १ वर्ष साविकको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय (संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय) र डेढ महिना उदयपुरको बेलका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएका थिए। त्योबाहेक उनी भूमि व्यवस्थामै रमाएर बसिरहेका छन्।

शाखा अधिकृत हुँदै २०७२ साउनमा भूमिमा छिरेका घिमिरे ८ महिनापछि उपसचिवमा बढुवा भएका थिए। उपसचिवमा बढुवा भएपछि उनको भूमिमै पदस्थापन भयो। तत्कालीन भूमि सुधार तथा व्यवस्थापन विभाग हुँदै उनी भूमि मन्त्रालय पुगे। भूमि मन्त्रालयमा बसेको ५ महिनापछि मालपोत कार्यालय भद्रपुर, झापाको प्रमुख भएर गएका घिमिरे २०७३ असोज १४ गतेदेखि २०७४ भदौ २९ गतेसम्म करिब एक वर्ष भद्रपुरको मालपोत हाकिम भएर बसेका थिए। भद्रपुर मालपोत प्रमुख हुँदा उपसचिव घिमिरे गिरीबन्धु ‘टि-इस्टेट’ जग्गामा नीतिगत घोटालाको ‘आर्किटेक्ट’ भनेर परिचित छन्। उनी अहिले पनि भूमिमै रजगज गरिरहेका हुन्।

भद्रपुरको मालपोत हाकिममा एक वर्ष बसेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेका उपसचिव घिमिरे त्यहाँबाट सिधै काठमाडौं साँखुको प्रमुख मालपोत अधिकृत भएर जान सफल भए। घिमिरे २०७५ असोज २४ गतेदेखि २०७६ फागुन ११ गतेसम्म झन्डै डेढ वर्ष साँखु मालपोतको हाकिम भए। त्यसपछि उनी सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र, नयाँ बानेश्वरमा एक वर्ष बसेर भूमि व्यवस्थापन तथा अभिलेख विभागमा पुगे। भूमि व्यवस्थापन तथा अभिलेख विभागमा झन्डै ३ वर्ष (२०७७ माघ २० गतेदेखि २०८१ असोज १३ गतेसम्म) निर्देशकको भूमिकामा काम गरेका घिमिरे त्यहाँबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरूवा भएका थिए। मन्त्रालयमा एक वर्ष बसेपछि उनको उदयपुरको बेलाका नगरपालिकामा सरूवा भयो। जग्गा प्रशासन शाखाबाट बेलाका नगरपालिका पुगेका घिमिरे सेटिङ मिलाएर एक महिना बिताएपछि फेरि जग्गा प्रशासन शाखामै फिर्ता भएको खुल्न आएको छ। उनी बेलाका पुगेर भूमिमै फिर्ता भएको पनि कार्तिकमा एक वर्ष पुग्ने देखिन्छ। उनी दश वर्षदेखि भूमिमै बसेर रजगज गर्ने उपसचिव रहेको पाइन्छ।

२०३४ साल भदौ २४ गते रामेछापको मन्थलीमा जन्मिएका घिमिरे २०६२ पुस १८ गतेदेखि शाखा अधिकृतबाट सरकारी (निजामती) सेवामा प्रवेश गरेका हुन्। शाखा अधिकृत भएपछि घिमिरे सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह, सूचना तथा सञ्चार मन्त्रालय हुँदै इलाका हुलाक कार्यालय इनरुवा, सुनसरीमा पदस्थापन भएका थिए। इलाका हुलाक कार्यालय इनरुवा, सुनसरीमा पुगेको एक महिना नहुँदै घिमिरेले गोश्वारा हुलाक कार्यालय, काठमाडौंमा सरूवा मिलाए। साढे दुई वर्ष गोश्वारा हुलाकमा बसेर उनी तत्कालीन स्थानीय विकास मन्त्रालय हुँदै जिल्ला विकास समितिको कार्यालय, धनुषामा पुगे। धनुषामा १ वर्ष बसेर फेरि घिमिरे ललितपुरमा रहेको स्थानीय विकास मन्त्रालयमै फर्किए। मन्त्रालयमा करिब ४ वर्ष बसेर उनको जिल्ला विकास समितिको कार्यालय, सोलुखुम्बु सरुवा भए। सोलुखुम्बुमा डेढ वर्ष बसेर २०७२ साउनमा भूमिमा ‘इन्ट्री’ मारेका घिमिरे लामो समयदेखि भूमिमै रजगज गर्ने उपसचिवमा पर्छन्।

त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा सामाजिक शास्त्र र जनप्रशास दुई विषयमा स्नातकोत्तर गरेका उपसचिव घिमिरेले अहिले जग्गा प्रशासनमा एकछत्र राज गरिरहेका छन्। मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटा ५८ वर्ष पूरा गरेर यहीं साउन २१ गते (एक हप्ताभित्रै) अनिवार्य अवकाशमा जान लागेका छन्। साढे २० सरकारी सेवामा बिताएर पेन्सन पकाएका उपसचिव घिमिरेलाई मन्थली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पठाएर सरकारले जन्मथलोमा गएर सेवा गर्ने मौका प्रदान गर्नुपर्छ। कम्तिमा पनि एक सरूवा अवधि मन्थलीको सेवामा समर्पित गर्ने अवसर दिए सरकार धन्य हुनेछ।

क्याटेगोरी : समाचार
ट्याग : #रोशनशंकर घिमिरे

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ