विश्वका शीर्ष ३१ औँ वैज्ञानिकलाई पन्छाएर सदस्य–सचिवको सर्टलिस्ट, अनुसन्धान दुराचारको आरोप खेपेका व्यक्ति छनोटमा
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को सदस्य–सचिव नियुक्तिका लागि सार्वजनिक गरेको सर्टलिस्टले नयाँ विवाद निम्त्याएको छ।
विश्वका शीर्ष ३१ वैज्ञानिकको सूचीमा लगातार सूचीकृत हुँदै आएका तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मै दुई दशकभन्दा बढी अनुसन्धान नेतृत्व गरेका डा. मेघनाथ धिमाललाई प्रारम्भिक सूचीबाटै बाहिर राखिएको छ भने अनुसन्धान दुराचारको आरोप खेपेका डा प्रमाेद जाेशी र विनाेद कुमार यादव सटलिस्टमा परेका छन् ।

विवादास्पद व्यक्तिहरू सर्टलिस्टमा परेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीकाे छनोट प्रक्रिया, मापदण्ड र सरकारको नियतमाथि अनुसन्धान समुदायले प्रश्न उठाएका छन् ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सदस्य–सचिव पदका लागि विभिन्न व्यक्तिको सर्टलिस्ट तयार गरी सार्वजनिक गरेको हो। अनुसन्धान क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान बनाएका व्यक्तिलाई सर्टलिस्टमै नराखी हटाइएको तथा अनुसन्धान क्षेत्रमा विवादित बनेका व्यक्तिहरूलाई प्राथमिकता दिइएको भन्दै अनुसन्धानकर्मीहरूले आपत्ति जनाएका छन्।
अनुसन्धान विज्ञहरूका अनुसार स्वास्थ्य अनुसन्धान परिषद् जस्तो विशुद्ध प्राविधिक तथा अनुसन्धानमूलक निकायको नेतृत्व योग्यता, अनुसन्धान उपलब्धि, वैज्ञानिक प्रकाशन, उद्धरण र अन्तर्राष्ट्रिय योगदानका आधारमा चयन हुनुपर्ने हो। तर सार्वजनिक गरिएको सर्टलिस्टले त्यसको विपरीत सन्देश दिएको उनीहरूको भनाइ छ।
विज्ञहरूका अनुसार विषय विज्ञ र योग्य व्यक्तिलाई प्राथमिकता दिने प्रतिबद्धतासहित आएको बालेन नेतृत्वको सरकारले स्वास्थ्य अनुसन्धान जस्तो संवेदनशील संस्थामा विवादास्पद छनोट प्रक्रिया अघि बढाउँदा सुशासनमाथि नै प्रश्न उठेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता तथा मन्त्रालयको सचिवालयको भूमिकाप्रति पनि अनुसन्धान समुदायका केही सदस्यले असन्तुष्टि व्यक्त गरेका छन्।
साउन १५ गते प्रकाशित सूचनाअनुसार सार्वजनिक गरिएको सर्टलिस्टमा परेका केही उम्मेदवारको अनुसन्धान अनुभव, वैज्ञानिक योगदान र अनुसन्धान नेतृत्व क्षमतामाथि प्रश्न उठाइएको छ। त्यही क्रममा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा २१ वर्षदेखि कार्यरत रही अनुसन्धान शाखा प्रमुख तथा निमित्त सदस्य–सचिवको जिम्मेवारी सम्हालिसकेका डा. मेघनाथ धिमालको नाम भने प्रारम्भिक सूचीमै नपरेपछि छनोट समितिको कार्यशैलीमाथि समेत प्रश्न उठेको छ।
अनुसन्धान क्षेत्रका अधिकारीहरूका अनुसार धिमाललाई योग्यता र अनुसन्धान उपलब्धिका आधारमा प्रतिस्पर्धाबाट हटाउन कठिन हुने भएकाले प्रारम्भिक चरणमै बाहिर राखिएको आशंका गरिएको छ। यद्यपि मन्त्रालय वा छनोट समितिले यसबारे कुनै आधिकारिक स्पष्टीकरण दिएको छैन।
योग्य र सक्षम व्यक्तिलाई पन्छाएर विवादित व्यक्तिको सिफारिस गरिनुले सुशासनप्रतिको सरकारको प्रतिबद्धतामाथि धक्का पुगेको टिप्पणी पनि हुन थालेको छ। प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ सल्लाहकार डा. जेपी अग्रवाल र मन्त्रालयका सचिव डा. विकास देवकोटाले छनोट प्रक्रियालाई थप पारदर्शी र विश्वसनीय बनाउन आवश्यक पहल गर्नुपर्ने आवाज समेत उठेको छ।

को हुन् डा. मेघनाथ धिमाल?
डा. मेघनाथ धिमालले सन् २००५ देखि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा वातावरणीय स्वास्थ्य अनुसन्धान अधिकृतका रूपमा सेवा सुरु गरेका हुन्। उनी अनुसन्धान शाखा प्रमुख तथा निमित्त सदस्य–सचिवको जिम्मेवारी सम्हालिसकेका छन्।
जर्मनीबाट वातावरणीय स्वास्थ्य विज्ञानमा विद्यावारिधि गरेका धिमाल विश्व स्वास्थ्य संगठन (WHO) का प्राविधिक सल्लाहकार पनि हुन्। गुगल स्कलरमा उनका ४०० भन्दा बढी वैज्ञानिक प्रकाशन र १ लाख २१ हजारभन्दा बढी उद्धरण रहेका छन्। उनी सन् २०२३ देखि लगातार विश्वका शीर्ष ३१ वैज्ञानिकहरूको सूचीमा सूचीकृत हुँदै आएका छन्।
स्वास्थ्य मन्त्रीले छानेका पात्र कस्ता हुन् ?
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को सदस्य–सचिव पदका लागि सार्वजनिक गरेको सर्टलिस्टमा सात जना उम्मेदवार परेका छन्। सार्वजनिक रूपमा उपलब्ध विवरण, अनुसन्धान अनुभव, वैज्ञानिक प्रकाशन तथा गुगल स्कलर प्रोफाइलका आधारमा उनीहरूको पृष्ठभूमि यस्तो छ :

दीपेन्द्रकुमार यादव
पोखरा विश्वविद्यालयका सह–प्राध्यापक दीपेन्द्रकुमार यादवले जनस्वास्थ्य विषयमा विद्यावारिधि गरेका छन्। उनीसँग शिक्षण अनुभव भए पनि अनुसन्धान संस्थामा नेतृत्व गरेको अनुभव छैन। गुगल स्कलरमा उनका करिब ५० वैज्ञानिक प्रकाशन र करिब ६७० उद्धरण देखिन्छन्। यसअघि उनी स्वास्थ्य बीमा बोर्डको सदस्यमा राजनीतिक नियुक्ति पाएका थिए।

धर्मगत भट्टराई
धर्मगत भट्टराईले भारतबाट एमबीबीएस, एमडी र डीएम गरेका छन्। हाल ओम अस्पतालमा कार्यरत उनीसँग करिब एक दशकको अनुसन्धान अनुभव छ। उनका ५० भन्दा बढी वैज्ञानिक प्रकाशन रहेका छन् भने गुगल स्कलरमा करिब ५०० उद्धरण छन्।

प्रमोद जोशी
प्रमोद जोशी स्वास्थ्य सेवाका दशौँ तहका अर्थोपेडिक सर्जन हुन्। उनी राजनीतिक नियुक्तिमार्फत राष्ट्रिय ट्रमा सेन्टर तथा गेटा अस्पतालको निर्देशक भइसकेका छन्। साथै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य–सचिवका रूपमा करिब दुई वर्ष छ महिनासम्म कार्य गरिसकेका छन्। उनका चारवटा प्रथम लेखकका प्रकाशन, करिब २० वटा सह–लेखकका प्रकाशन तथा गुगल स्कलरमा १०० भन्दा कम उद्धरण रहेका छन्। उनलाई वाैद्दिक दुराचारकाे आराेप समेत लाग्दै आएको छ ।


विनोदकुमार यादव
विनोदकुमार यादव मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार हुन्। उनी त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थानका सह–प्राध्यापक पनि हुन्। उनका करिब १०० वैज्ञानिक प्रकाशन तथा गुगल स्कलरमा करिब १५ हजार उद्धरण रहेका छन्। उनलाई पनि बौद्धिक दुराचारको आरोप लाग्दै आएको छ।


श्यामप्रसाद लोहनी
श्यामप्रसाद लोहनीले मनोविज्ञानमा विद्यावारिधि गरेका छन्। उनको गुगल स्कलर प्रोफाइल उपलब्ध छैन। स्वास्थ्य अनुसन्धानभन्दा निजी क्षेत्र, परियोजना व्यवस्थापन तथा प्रशासनिक जिम्मेवारीमा उनको अनुभव केन्द्रित रहेको देखिन्छ। उनी विश्वविद्यालय अनुदान आयोगसहित विभिन्न निकायमा राजनीतिक नियुक्तिमार्फत जिम्मेवारी सम्हालिसकेका छन्। तर, उनकाे विगत राम्रो छैन । विवादास्पद व्यक्तिहरुसँगकाे उठबस अचाक्ली छ ।

सबिना श्रेष्ठ
सबिना श्रेष्ठ नेत्ररोग विशेषज्ञ (एमबीबीएस, एमडी) हुन्। उनले काठमाडौं मेडिकल कलेजमा लामो समय अध्यापन गरेकी छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को स्थापना कालदेखि अनुसन्धानसम्बन्धी गतिविधिमा संलग्न रहँदै एथिकल रिभ्यु बोर्डको सदस्यका रूपमा पनि काम गरिसकेकी छन्।

डा. शेषानन्द सञ्जेल
डा. शेषानन्द सञ्जेल कर्णाली एकेडेमी अफ हेल्थ साइन्सेसमा कम्युनिटी हेल्थ साइन्सेसका प्राध्यापक तथा सहायक डिन (स्कुल अफ पब्लिक हेल्थ) हुन्। उनले इन्जिनियरिङ र वातावरणीय स्वास्थ्य विज्ञानमा उच्च अध्ययन तथा विद्यावारिधि गरेका छन्। गुगल स्कलरमा उनका करिब ४० वैज्ञानिक प्रकाशन तथा ७४५ उद्धरण रहेका छन् ।


तपाईको प्रतिक्रिया दिनुहोस