यी हुन् संघबाट प्रदेश फर्काइएका सचिव
काठमाडौं। सरकारले दुई महिनाको अन्तरालमा संघमा रहेका ३ सचिवलाई प्रदेश फर्काएको छ। सरकारले तुलनात्मक रूपमा प्रदेशमा कम बसेर आएका र विवादमा परेका सचिवलाई संघबाट प्रदेश फर्काएको पाइन्छ। शोभाकान्त पौडेल र राधिका अर्याल उक्त मापदण्डमा परेको देखिन्छ। विवादमा नपरेपनि प्रदेशमा कम बसेर संघमा आएका सचिव भूपाल बराललाई प्रदेशतिरै फर्काइएको हो।
२०८२ जेठ १९ गतेदेखि २०८२ कार्तिक २७ गते ५ महिना ८ दिन बागमती प्रदेशको प्रमुख सचिव बनेर संघमा फर्किएका भूपाल बराललाई गण्डकी प्रदेशमा पठाइएको छ। अर्थ मन्त्रालयबाट राजस्व सचिवको दरबन्दी खारेज भएसँगै फाजिलामा पर्ने अवस्था आएपछि उनलाई प्रदेश पठाइएको हो। बराल गण्डकी प्रदेशको प्रमुख सचिव भएर गएको दुई महिना हुन लागेको छ।
कम अवधि प्रदेश बसेका कनिष्ठ सचिव बराललाई प्रदेश फर्काइएसँगै शोभाकान्त पौडेल र राधिका अर्याल एक महिनाभित्रै प्रदेशमा खटाइएका छन्। विवादमा तानिरहने सचिव पौडेल मधेश प्रदेशमा गएको हक हप्ता भएको छ। गण्डकी प्रदेशको प्रमुख सचिव भएर १ महिना पनि नबसेका पौडेल मधेश खटाइएका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा रहेकी सचिव राधिका अर्याल कर्णाली प्रदेशको प्रमुख सचिवमा सरूवा भएकी छिन्। सञ्चारमा हुँदा कैफियत भेटिएपछि राधिकालाई महिला मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा तानिएको थियो। त्यसपछि उनलाई कर्णाली पठाइएको हो। २०८० भदौ २९ गतेदेखि २०८१ बैशाख २६ गतेसम्म करिब ८ महिना लुम्बिनी प्रदेशको प्रमुख सचिव रहेकी राधिका अहिले कर्णाली पुगेकी हुन्।
क्याटेगोरी : समाचारट्याग : #भूपाल बराल, #राधिका अर्याल, #शोभाकान्त पौडेल, #संघबाट प्रदेश फर्काइएका सचिवहरू


तपाईको प्रतिक्रिया दिनुहोस