किताबखानाको महानिर्देशकमा आरती, प्रकाशले हत्याए ‘पिएलजिएसपी’


काठमाडौं। राष्ट्रिय किताबखानाको महानिर्देशक आरती न्यौपानेलाई बनाएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले मंगलबार मन्त्रीस्तरीय निर्णयबाट आरतीलाई राष्ट्रिय किताबखानाको महानिर्देशक बनाएकी हुन्। राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलले गृह मन्त्रालयमा ‘इन्ट्री’ मारेसँगै आरतीले बाजी मारेकी छिन्।

राष्ट्रिय किताबखाना (निजामती)को उपमहानिर्देशक रहेकी आरती उक्त दरबन्दी कटौती भएसँगै फाजिलमा परेकी थिइन्। फाजिलमा परेकी आरतीलाई महानिर्देशकको जिम्मेवारी दिइएको हो। महिला कोटाबाट सहसचिव भएको ६ महिना पनि नपुगी आरतीले १०६ जना कर्मचारीको कमाण्ड गर्ने अवसर पाएकी छिन्। यो उनको अर्को ‘रेकर्ड’ हो।

यता भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संघीय मामिला महाशाखा प्रमुख प्रकाश दाहालले प्रादेशिक तथा स्थानीय शासन सुदृढीकरण कार्यक्रम (पिएलजिएसपी)को नेतृत्व हत्याएका छन्। सामान्य प्रशासन मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम)को नेतृत्व गरेका सहसचिव दाहालले ‘पिएलजिएसपी’लाई उक्त महाशाखा अन्तर्गत लगेर राष्ट्रिय कार्यक्रम निर्देशक बन्न सफल भएका छन्। सहसचिव दाहाललाई ‘पिएलजिसपी’को राष्ट्रिय कार्यक्रम निर्देशकको जिम्मेवारी तोकिएको छ। डिलाराम पन्थीले हेर्दै आएको उक्त कार्यक्रम दाहालको भागमा परेको पाइन्छ।

लोक सेवा मात्र पढाउने र जिल्लामा गएर जागिर नखाएका सहसचिव दाहालले योजनाबद्ध तरिकाले ‘पिएलजिएसपी’ आफ्नो महाशाखा मातहतमा लगेर नेतृत्व हत्याएका हुन्। उनको खुरापातका अगाडि कसैको केही नचलेका चर्चा चल्न थालेको हो। सजिला शाखाहरू संघीय मामिलातिर राखेर ओएन्डएम गरेको देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #आरती न्यौपाने, #प्रकाश दाहाल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ