शोभाकान्तले भन्सारको डिजी हुँदा लगेको गाडी अहिलेसम्म गरेनन् फिर्ता 


काठमाडौं। शोभाकान्त पौडेलले भन्सार विभागको महानिर्देशक (डिजी) हुँदा लगेको गाडी अहिलेसम्म फिर्ता नगरेको खुलेको छ। हाल मधेश प्रदेशका प्रमुख सचिव शोभाकान्त उक्त गाडी प्रयोग गरिरहेका छन्। उनले भन्सारको गाडी पनि प्रयोग गरिरहेको पाइएको हो।

शोभाकान्तले भन्सार विभागबाट लिएर हिँडेको सरकारी सेतो नम्बर प्लेटको हुन्डाईको क्रेटा गाडी निजी रातो नम्बर प्लेट बनाएर प्रयोग गरिरहेको खुलेको छ। उनले भन्सारको गाडी निजी बनार दुरूपयोग गरिरहेको पाइएको हो। शोभाकान्तले भन्सारबाट लिएर हिँडेको उक्त क्रेटा गाडीमा रातो प्लेट बागमती प्रदेश-०१-०३३ च ४२२४ नम्बर राखेर दुरूपयोग गरिरहेको फेला परेको छ।

महालेखा नियन्त्रक हुँदा शोभाकान्तले ३ वटा गाडी प्रयोग गर्दै आएका थिए। उनले भन्सार विभागको डिजी हुँदा लिएर हिँडेको क्रेटा गाडीसहित महालेखा नियन्त्रकको गाडी र महालेखा नियन्त्रक कार्यालय कै नाममा रहेको सेतो स्कर्पियो प्रयोग गर्दै आएका थिए। शोभाकान्तले महालेखा नियन्त्रक कार्यालयको नाममा रहेको दुबै गाडीलाई रातो नम्बर प्लेट राखेर फेरिफेरि चढ्दै आएका थिए। घरायसी प्रयोजनका लागि प्रयोग गर्ने गरेको भन्सारको क्रेटा पनि उनले लिएर हिँड्ने गरेका थिए। अन्य कर्मचारीको गाडी सरकारले खोसिरहँदा शोभाकान्त भने निर्धक्कसँग ३ वटा गाडी प्रयोग गर्नेमा पर्छन्।

महालेखा नियन्त्रक कार्यालयले जस्तै मधेश प्रदेशले पनि प्रमुख सचिवको हैसियतमा प्रदेश सरकारले शोभाकान्तलाई गाडी दिएको छ। कानुन बमोजिमको सुविधा लिइरहेका शोभाकान्तले कानुनविपरीत भन्सारको गाडीमा समेत कब्जा जमाइरहेको पाइन्छ। उनको गाडी फिर्ता लिन भन्सार विभागले पनि आँट गरेको पाइँदैन। यस्ता गतिविधिले सरकारी सवारी साधन दुरूपयोग बढिरहेको हो। पछिल्लो समय उच्च पदस्थ कर्मचारीले सरकारी गाडीमा निजी नम्बर प्लेट राखेर व्यापक दुरुपयोग गरिरहेको र दुई वा दुईभन्दा बढी गाडी राखेर सुशासनको खिल्ली उडाउन थालेकाले उक्त विषयमा सरकारले विशेष निगरानी गरेर तत्काल सवारी साधनको दुरुपयोग रोक्न कदल चाल्नु पर्ने देखिन्छ।

 

क्याटेगोरी : समाचार
ट्याग : #शोभाकान्त पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ