मासिक ३० लाख खानेगरी सहसचिव धनीराम एडिबी मनिला जाँदै, श्रीकृष्ण घर फिर्तीको तयारीमा


काठमाडौं। मासिक ३० लाख रुपैयाँभन्दा बढी खाने गरी सहसचिव डा. धनीराम शर्मा भट्टराई एसियाली विकास बैंकमा जागिर खान जान लागेका छन्। फिलिपिन्सको मनिलामा मुख्यालय रहेको एसियाली विकास बैंक (एडिबी)मा वैकल्पिक कार्यकारी निर्देशक भएर सहसचिव धनीराम जागिर खान जान लागेका हुन्। मन्त्रिपरिषद्को बैठकले एडिबीको वैकल्पिक कार्यकारी निर्देशक पदमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव धनीरामलाई मनोनयन गर्ने निर्णय गरेको छ। अर्थ मन्त्रालयको अन्तराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख रहेका धनीरामलाई सरकारले एडिबीको वैकल्पिक कार्यकारी निर्देशक बनाएर पठाउने भएको हो।

हाल एडिबीको वैकल्पिक कार्यकारी निर्देशक रहेका सहसचिव श्रीकृष्ण नेपाल ५८ वर्ष पूरा भएर भदौ १५ गते अनिवार्य अवकाशमा जाँदैछन्। घर फिर्तीको तयारी गरिरहेका नेपाललाई विस्थापित गरेर सरकारले धनिरामलाई एडिबीको वैकल्पिक कार्यकारी निर्देशक बनाएर मनिला पठाउने भएको हो। श्रीकृष्णको जागिर अब तीन हप्ता पनि बाँकी छैन।

२०८१ माघ ७ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाललाई एडिबीको वैकल्पिक कार्यकारी निर्देशक नियुक्तिको लागि नेपालको तर्पबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्णलाई मनोनयन गर्ने निर्णय गरेको थियो। त्यसको ६ महिना (नयाँ आर्थिक वर्ष सुरू भएपछि) श्रीकृष्ण मनिला उडेका थिए। त्यसको एक वर्षपछि उनी घर फर्किने तयारीमा छन्। अर्थ मन्त्रालयको अन्तराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख रहेका बेला मनिला गएका श्रीकृष्णलाई उक्त महाशाखा प्रमुखको भूमिकामै रहेका धनीरामले विस्थापित गर्ने भएका हुन्। संयोग सहसचिवद्वय श्रीकृष्ण र धनीराम पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलका विश्वासपात्र मानिन्छन्। पाल्पाका श्रीकृष्ण २०७१ माघका सहसचिव हुन् भने दैलेख (सुर्खेत)का धनीराम २०७३ बैशाखका सहसचिव हुन्। धनीराम ४८ वर्ष पूरा हुन लागेका छन्।

धनीराम मनोनित भएको एडिबीको वैकल्पिक कार्यकारी पदमा तत्कालीन मुख्यसचिव डा. सोमलाल सुवेदी समेत गएका थिए। उक्त पदमा जानेको मासिक झन्डै २० हजार डलर पारिश्रमिक हुन्छ। त्यो भनेको अहिलेको डलर भाउ अनुसार मासिक झन्डै ३० लाख रुपैयाँ हो। उक्त पैसाका लागि मुख्यसचिवको पद नै ‘बेचेर’ सुवेदी मनिला गएका थिए। सत्ताको संरचना परिर्वतन भएपछि सुवेदीलाई विस्थापित गरेर बाँकी अवधिका लागि अर्थ मन्त्रालयका अर्का शक्तिशाली सहसचिव (पछि राजस्व सचिव) रामशरण पुडासैनी गएका थिए। डलर खान उक्त पदमा श्रीकृष्ण मनिला गएका थिए। फेरि उक्त पदमा धनिराम जाने भएका छन्। तत्काल निजामती कानुन आए सचिव बन्नु पर्ने अवस्थामा रहेका धनीराम डलर छाप्न एडिबीको मुख्यालय जाने भएका हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #एसियाली विकास बैंक(एडिबी), #धनीराम शर्मा, #बैकल्पिक कार्यकारी निर्देशक, #श्रीकृष्ण नेपाल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ