कागेश्वरीकी इन्जिनियर कार्की ६४ हजार घुस रकमसहित रंगेहात पक्राउ
काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिकाकी इन्जिनियर दिपा कार्की ६४ हजार घुससहित रंगेहात पक्राउ परेकी छिन्। अख्तियार दुरुपायोग अनुसन्धान आयोगको टोलीले इन्जिनियर कार्कीलाई घुस रकमसहित काठमाडौं नगरपालिका कार्यालय थलीबाट रंगेहात पक्राउ गरेको हो। घुस खान मध्यस्थ को भूमिका खेल्ने आस्मा कार्कीलाई पनि पक्राउ गरेको अख्तियारले जनाएको छ। इन्जिनियर कार्की जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालयमा भवन निर्माण तथा वस्ती विकास शाखा प्रमुख इन्जिनियर (सातौं) पदमा कार्यरत रहेको खुलाइएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यस्तो छ अख्तियारको विज्ञप्ति
‘जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालयमा भवन निर्माण तथा वस्ती विकास शाखा प्रमुख इन्जिनियर (सातौं) पदमा कार्यरत दिपा कार्की समेतले Structure Analysis को काम स्वीकृत गरेबापत बार्गेनिङ गर्दै पटक-पटक दु:ख हैरानी दिई सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज इन्जिनियर दिपा कार्की र रकम लिई मध्यस्थको काम गर्ने आस्मा कार्कीलाई सेवाग्राहीबाट घुस/रिसवत बापत रू.६४,०००/- (चौसठ्ठी हजार रूपैयाँ) लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालय थली, डाँछीबाट मिति २०८३।०५।१५ गते नियन्त्रणमा लिइएको र आज मिति २०८३।०५।१६ गते विशेष अदालतको आदेशबाट घुस/रिसवत भ्रष्टाचार सम्बन्धी मुद्दामा म्याद थप भई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।’,



तपाईको प्रतिक्रिया दिनुहोस