ठूलो संख्यामा सिडिओ चलाउने गृह मन्त्रालयको तयारी


काठमाडौं। गृह मन्त्रालयले ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) चलाउने (सरूवा गर्ने) तयारी गरिरहेको छ। झापा, भोजपुर, दोलाखा, सुर्खेतलगायतका जिल्लामा सिडिओ रिक्त हुन पुगेका छन्। विपद्को समयमा सिडिओ रिक्त राख्न त्यति उचित हुँदैन। गृहको बरण्डामा लामो समयदेखि सहसचिवहरू थन्किएका र दरबन्दी कटौतीपछि सहसचिव सिडिओहरूको व्यवस्थापन गर्नु पर्ने भएकाले गृहले ठूलो संख्यामा सिडिओ चलाउने तयारी थालेको हो।

गृह मन्त्रालयले सामान्यतयाः ९ महिनादेखि १ वर्षभित्रमा सिडिओ सरूवा गर्दै आएको छ। ९ महिना पुगेका सिडिओहरू सरूवा हुँदै आएका छन्। उक्त अवधि पूरा भएका डेढ दर्जन बढी सहसचिव सिडिओहरू रहेको पाइन्छ। उक्त अवधि पूरा गर्ने झापाका सिडिओ शिवराम गेलालले राजीनामा दिइसकेका छन्।

मोरङ, पर्सा, कैलाली जस्ता आकर्षक जिल्लाको सिडिओको पनि १० महिना नाघिसकेको छ। चुनावी सरकारले एकै’लट’मा साढे दुई दर्जन सहसचिव सिडिओ खटाएको थियो। कार्तिक ९ गतेको लटमा खटाइएका सिडिओमा गृह मन्त्रालयले रुपन्देही, सुनसरी जस्ता तराईका ‘क’ वर्गमा पर्ने सिडिओ चलाइसकेको छ। सुनसरीका सिडिओ बासुदेव घिमिरेलाई पनि विशेष परिस्थितिका कारण गृह मन्त्रालयमा तानिएको हो।

गत कार्तिकमा गृह मन्त्रालयले मोरङको सिडिओमा सहसचिव युवराज कट्टेल, झापाको सिडिओमा शिवराम गेलाल, सुनसरीको सिडिओमा बासुदेव घिमिरे, धनुषाको सिडिओमा प्रेमप्रसाद लुईंटेल, पर्साको सिडिओमा भोला दाहाल, रूपन्देहीको सिडिओमा माधवप्रसाद पोखरेल, बाँकेको सिडिओमा दिलकुमार तामाङ, कैलालीको सिडिओमा हिरालाल रेग्मी र कपिलवस्तुको सिडिओमा जनार्दन गौतमको सरूवा गरेको थियो। लमजुङको सिडिओमा टोकराज पाण्डे, नवलपरासी पश्चिमको सिडिओमा कृष्णप्रसाद लम्साल, दोलखाको सिडिओमा नारायणप्रसाद रिसाल, अर्घाखाँचीको सिडिओमा तोयनारायण सुवेदी, सिरहाको सिडिओमा सुरेन्द्र पौड्याल, धनकुटाको सिडिओमा विनोदकुमार खड्का, रौतहटको सिडिओमा दिनेश सागर भुसाल, गुल्मीको सिडिओमा आनन्द सारू, अछामको सिडिओमा विष्णुप्रसाद कोइराला र उदयपुरको सिडिओमा धर्मराज जोशीको सरूवा भएको थियो। सोही ‘लट’मा सरूवा भएका रुपन्देहीका सिडिओ पोखरेल, लम्जुङका सिडिओ पाण्डे, दोलखाका सिडिओ रिसाल, धनकुटाका सिडिओ खड्का, गुल्मीका सिडिओ सारू र अछामका सिडिओ कोइराला र उदयपुरका सिडिओ जोशी अन्यन्त्र पुगिसकेका छन्। गुल्मीको सिडिओबाट अछाम सरूवा भएका कोइराला डडेलधुरा हुँदै कोशी प्रदेश पुगेका हुन्। उदयपुरका सिडिओ जोशी सुर्खेत हुँदै सुदूरपश्चिम प्रदेश पुगेका छन्।

बाराको सिडिओमा धर्मेन्द्रकुमार मिश्र, काभ्रेपलाञ्चोकको सिडिओमा गोपालकुमार अधिकारी, ललितपुरको सिडिओमा प्रेमप्रसाद भट्टराई, बर्दियाको सिडिओमा गोगनबहादुर हमाल, महोत्तरीको सिडिओमा इन्द्रदेव यादव, भक्तपुरको सिडिओमा उमेशकुमार ढकाल, मकवानपुरको सिडिओमा बसन्त अधिकारी, सिन्धुलीको सिडिओमा स्किम श्रेष्ठ, सर्लाहीको सिडिओमा रामुराज कडरिया, गोरखाको सिडिओमा तुलसीबहादुर श्रेष्ठ र जुम्लाको सिडिओमा खिमबहादुर रायामाझीको सरूवा भएको थियो। उक्त ‘लट’मा सरूवा भएका ललितपुरका सिडिओ प्रेमप्रसाद भट्टराई र सर्लाहीका सिडिओ कडरिया अनिवार्य अवकाशमा गइसकेका छन्। भक्तपुरको सिडिओ भएका ढकाल बागमती प्रदेश र जुम्लाको सिडिओमा सरूवा भएका रायामाझी लुम्बिनी प्रदेश पुगेका हुन्।

मोरङका सिडिओ कट्टेल, धनुषाको सिडिओ लुईंटेल, पर्साको सिडिओ दाहाल, बाँकेको सिडिओ तामाङ, कैलालीको सिडिओ रेग्मी, कपिलवस्तुको सिडिओ गौतम, अर्घाखाँचीको सिडिओ सुवेदी, सिरहाको सिडिओ पौड्याल, रौतहटको सिडिओ भुसाल, बाराको सिडिओ मिश्र, काभ्रेपलाञ्चोकको सिडिओ अधिकारी, बर्दियाको सिडिओ हमाल, महोत्तरीको सिडिओ यादव, मकवानपुरको सिडिओ अधिकारी, सिन्धुलीको सिडिओ स्किम श्रेष्ठ र गोरखाको सिडिओ तुलसीबहादुर श्रेष्ठ १० महिना पुग्न लागेका छन्। पहाडको सिडिओलाई जिल्लाको वर्ग हरेर तराई पठाउँदा र तराईका सिडिओलाई पहाड चढाउँदा सरूवा न्यायोचित हुन्छ।

यता काठमाडौंका सिडिओ ईश्वरराज पौडेलको ११ महिना अवधि पूरा भइसकेको छ।

सहसचिव र सिडिओ व्यवस्थापन बाँकी

गृह मन्त्रालयको जगेडामा अहिले ५ जना सहसचिव रहेका छन्। खोटाङ, जाजरकोट, रोल्पा, सल्यान जस्ता जिल्लाका सहसचिव सिडिओ फाजिलमा परेका हुन्। भोजपुरमा उपसचिव, झापा, दोलखा, सुर्खेत र डोटीमा सहसचिव सिडिओ पठाउन बाँकी छ। गृह मन्त्रालय कै दुईवटा महाशाखा रिक्त अवस्थामा छन्। केही जिल्लामा सिडिओ रिक्त केही जिल्लामा सिडिओ फाजिलमा परेको र गृह मन्त्रालयको जगेडाका सहसचिव समेत व्यवस्थापन गर्नुपर्ने भएकाले आवश्यकता र औचित्यका आधारमा अवधि पुगेका सिडिओ सरूवा गर्नुपर्ने परिस्थिति देखापरेको हो। गृह मन्त्रालयबाट केही सहसचिवको विगतको पृष्ठभूमि हेरेर आउट गर्नुपर्ने देखिन्छ। त्यस्ता सहसचिव जगेडामा पनि रहेको पाइन्छ।

४ जिल्लाका सहसचिव सिडिओ व्यवस्थापन

सहसचिवबाट उपसचिवको दरबन्दी कायम भएपछि खोटाङ, जाजरकोट, रोल्पा सल्यानका सिडिओ व्यवस्थापन गर्नुपर्ने अवस्था रहेका छ। खोटाङमा सहसचिव रेखा कँडेल, जाजरकोटमा सहसचिव खडानन्द अधिकारी, रोल्पामा सहसचिव गंगाबहादुर क्षेत्री र सल्यानमा सहसचिव महेन्द्रकुमार सापकोटा सिडिओ रहेका छन्। उनीहरूलाई अन्यन्त्र व्यवस्थापन गरेर ती जिल्लामा उपसचिव सिडिओ खटाउनु पर्ने हुन्छ। त्यसैले पनि गृहलाई सिडिओ चलाउनु पर्ने बाध्यता देखापरेको हो।

गृह मन्त्रालयको जगेडामा आधा दर्जन सहसचिव

गृह मन्त्रालयको जगेडामा आधा दर्जन सहसचिव रहेका छन्। सहसचिवहरू श्रवणकुमार पोखरेल, चिरञ्जीवी पौडेल, बासुदेव घिमिरे, भूपेन्द्र थापा र पुष्पराज शाही रहेका छन्। यिनीहरूमध्ये केही सहसचिव गृहबाट ‘आउट’ हुने सम्भावना छ।

गृह मन्त्रालयकै प्रशासन र योजना महाशाखा प्रमुख खाली छन्। प्रशासन महाशाखा प्रमुखमा विपद्का सुरेश पन्थीलाई ल्याउने चर्चा थियो। तर उनी विपद्मा वेपत्ता भएपछि पर्साका सिडिओ भोला दाहालको सम्भावना बढेको चर्चा सुनिन्छ।

गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट सहसचिवको दरबन्दी काटेर लागूऔषध नियन्त्रण विभाग बनाइएको छ। उक्त कार्यालयका प्रमुख सहसचिव बलराम निरौला पनि फाजिलमा परेका छन्।

४ जिल्लाको सिडिओ, लागूऔषध नियन्त्रण विभाग र मन्त्रालयका २ महाशाखामा सहसचिव व्यवस्थापन गर्ने ठाउँ देखिन्छ। तर, गृहमा ७ सहसचिव व्यवस्थापन गर्ने ठाउँ भएपनि गृहमा १० भन्दा बढी सहसचिव रहेका छन्। गृहबाट आधा दर्जन सहसचिव आउट हुने सम्भावना छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ