३ सरकार फेरिदा कुर्सी नफेरिएका गृहका ३ सहसचिव
काठमाडौं। गृहमा ३ सरकार फेरिदा पनि गृहका ३ सहसचिवको कुर्सी फेरिएको छैन। जेन-जी आन्दोलन अघिदेखि सम्हालेको जिम्मेवारीमा उनीहरू अटल देखिन्छन्। यी सहसचिवको पालामा रमेश लेखक, ओमप्रकाश अर्याल र सुदन गुरुङ गृहमन्त्रीको जिम्मेवारीमा रहे। केपी ओली, सुशीला कार्कीदेखि बालेन्द्र शाह (बालेन)को नेतृत्व गरी ३ वटा सरकार फेरिए। तर, गृह मन्त्रालय सहसचिवत्रय ऋषिराम तिवारी, आनन्द काफ्ले र रामचन्द्र तिवारीको (कुर्सी) जिम्मेवारी फेरिएको पाइँदैन।
गृहमा सचिव समेत ४ जना फेरिसकेका छन्। गोकर्णमणि दुवाडीको पालामा तिवारी बन्धु र काफ्लेले जिम्मेवारी पाएका थिए। दुवाडीपछि रामेश्वर दंगाल, राजकुमार श्रेष्ठ र केदारनाथ शर्मा गरी ४ सचिव फेरिसकेका छन्। तर, ३ सहसचिव एउटै जिम्मेवारीमा रहेका हुन्।
रमेश लेखक गृहमन्त्री हुँदा हर्ताकर्ता रहेका तिवारी बन्धु अहिले पनि गृहको पूर्ववत् जिम्मेवारीमा रहेका छन्। लेखकले ऋषिलाई काठमाडौंको सिडिओबाट तानेर मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख बनाएका थिए। त्यस्तै रामचन्द्रलाई सुरक्षा समन्वय महाशाखा प्रमुखबाट अध्यागमन विभागको महानिर्देशक (डिजी) बनाएर पठाएका थिए। रामचन्द्रलाई अध्यागमन विभागको डिजीमा पठाएपछि रिक्त रहेको मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको जिम्मेवारी आनन्द काफ्लेलाई दिइएको थियो। अहिले पनि उनीहरू लेखकले नै दिएको जिम्मेवारीमा रहेका छन्। ‘जेन-जी’ आन्दोलन भएको एक वर्ष पुग्न लागेकाे छ। त्योभन्दा अगाडिका सहसचिव गृह मन्त्रालयमा एउटै कुर्सीमा रहेको पाइन्छ।
सुशीला कार्की नेतृत्वको चुनावी सरकारले सरूवा गरेको सिडिओको समेत अवधि पुगिसकेको छ। चुनावी सरकारले सरुवा गरेका आधा जति सिडिओ अन्यत्र सरूवा भइसकेका छन्। बाँकी रहेका सिडिओलाई पनि अवधि पुगेका कारण गृहले चलाउन खोजेको छ। गृहमा जेन-जी आन्दोलन अगाडिदेखि एउटै कुर्सीमा रहेका यी सहसचिवको हकमा के गर्छ हेर्न बाँकी छ। ३ सरकार फेरिदा पनि नफेरिएका गृहका ३ सहसचिव निकै शक्तिशाली मानिएका हुन्। उनीहरू एक बर्ष अगाडिबाट एउटै कुर्सीमा टिकिरहेका छन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस