झापाको सिडिओमा पोखरेल, लागुऔषध नियन्त्रण विभागको महानिर्देशक तिवारी
काठमाडौं। गृह मन्त्रालयले, झापा, रौतहट, बारा, सुर्खेत, गोरखा, दोलखासहित जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरूवा गरेको छ। गृह मन्त्रालयले सहसचिवको दरबन्दी रहेको झापाको सिडिओमा श्रवणकुमार पोखरेललाई पठाएको छ। राजीनामा बुझाएका झापाका सिडिओ शिवराम गेलालाई भने गृह मन्त्रालय तानेको हो।
त्यस्तै लामो समयदेखि रिक्त रहेको सुर्खेतको सिडिओमा महेन्द्रकुमार सापकोटालाई पठाइएको छ। सल्यानका सिडिओ सहसचिव सापकोटा उक्त जिल्लामा उपसचिवको दरबन्दी कायम भएपछि सुर्खेतको सिडिओमा व्यवस्थापन भएका हुन्। सल्यानको सिडिओमा भने गृह मन्त्रालयकी उपसचिव बन्दना केसीलाई पठाइएको हो।
जाजरकोटका सिडिओ खडानन्द अधिकारीलाई बारा पठाइएको छ। बाराको सिडिओ धर्मेन्द्रकुमार मिश्रलाई गोरखा सरूवा गरेर अधिकारीलाई बारामा व्यवस्थापन गरिएको हो। जाजरकोटको सिडिओमा भने उपसचिवको दरबन्दी कायम भएपछि बागलुङका सहायक सिडिओ नबराल बराललाई पठाइएको छ। गोरखाका सिडिओ तुलसीबहादुर श्रेष्ठ गृह मन्त्रालय सरूवा भएका छन्।
खोटाङको सिडिओ रेखा कँडेलको दोलखाको सिडिओमा सरूवा भएको छ। राजीनामा दिएका दोलखाका सिडिओ हरिप्रसाद घिमिरेलाई गृह मन्त्रालयमा तानेर रेखालाई दोलखाको सिडिओमा सरुवा गरिएको हो। खोटाङमा उपसचिव दरबन्दी कायम भएपछि उक्त जिल्लाको सिडिओमा बाँकेका सहायक सिडिओ महेशकुमार गुरूङलाई पठाइएको छ।
रोल्पाका सिडिओ गंगा बहादुर क्षेत्रीको पर्वतको सिडिओमा सरुवा गरिएको छ। रोल्पामा उपसचिव दरबन्दी कायम भएपछि रोल्पाका सिडिओ क्षेत्रीको पर्वतमा सरूवा गरिएको हो। रोल्पामा भने उपसचिव सिडिओ खटाइएको छैन। पर्वतका सिडिओ लक्ष्मीप्रसाद पौडेल रौतहटको सिडिओमा सरूवा भएका छन्। रौतहटका सिडिओ दिनेशसागर भुसाल गृह मन्त्रालय सरूवा भएका हुन्। उनले मन्त्रालयको महाशाखा पाउने सम्भावना छ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख सहसचिव बलराम निरौलाको गृह मन्त्रालयमा सरुवा भएको छ। सुनसरीको सिडिओबाट तानिएका बासुदेव घिमिरेको गृह मन्त्रालयमै व्यवस्थापन भएको हो।
भोजपुरको सिडिओमा कुलशेखर अर्याल र म्याग्दीको सिडिओमा गणेश गैरे र डडेलधुराको सिडिओमा वेदराज फुयाललई पठाइएको छ।
यता नयाँ गठन भएको लागुऔषध नियन्त्रण विभागको महानिर्देशकमा भने गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख ऋषिराम तिवारीलाई पठाइएको छ। तिवारी काठमाडौंको सिडिओ भइसकेका सहसचिव हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस