लगातार सिडिओ खाइरहेका धर्मेन्द्रकुमार मिश्र, सातौ जिल्लाको कमाण्ड सम्हाल्न पुगे गोरखा


काठमाडौं। सहसचिव धर्मेन्द्रकुमार मिश्र लगातार प्रमुख जिल्ला अधिकारी(सिडिओ) खाइरहेका छन्। उनी सातौं जिल्लाको कमाण्ड गर्न गोरखा पुगेका हुन्।

मधेशी कोटाबाट राजस्वको उपसचिव बनेका मिश्र आन्तरिक प्रतिस्पर्धामार्फत २०७७ असारमा सहसचिवमा फड्को मारेका थिए। सहसचिव भएपछि लगातर सिडिओ बन्नेमा मिश्र देखा परेका हुन्। बाराबाट गोरखाको सिडिओमा सरुवा भएका मिश्रले एकपछि अर्को गर्दै आकर्षक जिल्लाको कमाण्ड पाइरहेका छन्।

मिश्र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), कपिलवस्तु, रौतहट, कैलाली, सुनसरी, बारा हुँदै गोरखाको सिडिओ बन्न सफल भएका छन्। बाराको सिडिओ भएको डेढ महिनापछि मिश्रको मधेश प्रदेशमा सरूवा भएको थियो। तर, उक्त सरूवा बदर गराएर मिश्र १० महिना बढी बाराको सिडिओमा टिक्न सफल भएका हुन्। सरूवा अवधि पुगेका सिडिओ मिश्र बाराबाट गोरखा उक्लिएका छन्।

उपसचिव हुँदा ९ वर्ष राजस्व प्रशासनमा रजगज गरेका सप्तरीका मिश्र सहसचिव भएपछि लगातार सिडिओ बनेर ‘रेकर्ड’ कायम गर्न अग्रसर छन्। २०७८ वैशाख ३ गतेदेखि फागुन ३ गतेसम्म नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सिडिओ चलाएका मिश्र त्यसपछि कपिलवस्तु पुगेका थिए। २०७८ चैत १८ मा कपिलवस्तुमा हाजिर भएका उनी करिब १० महिना सिडिओ चलाएपछि रौतहट पुगे। २०७९ माघ १० गते रौतहटमा हाजिर भएका सिडिओ मिश्र २०८० पुस ३ गतेसम्म बसे। रौतहटबाट पुस ४ कैलाली पुगेका मिश्र १ वर्ष बढी कैलालीको सिडिओ चलाएर सुनसरी पुगेका थिए।

२०८१ पुस २६ गतेदेखि २०८२ कार्तिक १२ गतेसम्म करिब १० महिना सुनसरीको सिडिओ चलाएका मिश्र त्यसपछि बाराको सिडिओमा सरूवा भए। बारामा १० महिना बढी सिडिओ चलाएर सहसचिव पहिलोपटक पहाडी जिल्लाको कमाण्ड सम्हाल्न पुगेका हुन्। २०८२ कार्तिक १८ गतेदेखि हालसम्म मिश्र बाराको सिडिओको भूमिकामा छन्। उनको गोरखाको सिडिओमा सरूवा भएपछि सातौं जिल्लाकाे कमाण्ड सम्हाल गोरखा जानेछन्।

मिश्रले कमाण्ड पाएको जिल्ला हेर्दा उनले लगातार आकर्षक जिल्लाको सिडिओमा स्तरोन्नति भइरहेको देखिन्छ। सिडिओ बनेर महेन्द्र राजमार्गमा मात्र कुदिरहेका सिडिओ मिश्रले अब केही समय पृथ्वी राजमार्गमा पनि गुड्नु पर्ने भएको छ। मधेश प्रदेशको जिल्ला बाराको सिडिओबाट मिश्र गण्डकी प्रदेशको जिल्ला गोरखाको सिडिओ बनेर गएका हुन्।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #धर्मेन्द्रकुमार मिश्र

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ