वर्ल्डलिंकद्वारा बाढीपहिरो प्रभावितका लागि १ करोड १ लाख सहयोग
काठमाडौं । हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।
वर्ल्डलिंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर साेमबार सहयोग रकम हस्तान्तरण गरेका हुन्।
विपद्का कारण ठूलो जनधनको क्षति भइरहेका बेला प्रभावित नागरिकलाई तत्काल राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको वर्ल्डलिंकले जनाएको छ।
कम्पनीका अनुसार बाढी तथा पहिरोबाट वर्ल्डलिंकको आफ्नै नेटवर्क तथा पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार कम्पनीले करिब ३ करोड ५० लाख रुपैयाँ बराबरको क्षति बेहोरेको छ। आफ्नै संरचनामा ठूलो क्षति भए पनि कम्पनीले प्रभावित क्षेत्रमा इन्टरनेट सेवा लामो समय अवरुद्ध हुन नदिन निरन्तर काम गरेको जनाएको छ।
वर्ल्डलिंकका प्राविधिक टोली प्रभावित क्षेत्रमा खटिएर क्षतिग्रस्त नेटवर्क तथा पूर्वाधारको मर्मत र पुनःस्थापनामा सक्रिय भएका थिए। बाढी आएको तीन दिनभित्रै प्रभावित नेटवर्कको पुनःस्थापना गरी सेवा सञ्चालनमा ल्याइएको कम्पनीको दाबी छ।
वर्ल्डलिंकले विपद्का बेला इन्टरनेट सेवा केवल व्यावसायिक सेवा नभई सूचना, सञ्चार, उद्धार, राहत तथा आपत्कालीन समन्वयका लागि महत्वपूर्ण माध्यम भएको जनाएको छ। त्यसैले कठिन परिस्थितिमा सेवा निरन्तर राख्नुका साथै प्रभावित नागरिकको राहतका लागि आर्थिक सहयोग गर्नु आफ्नो सामाजिक तथा राष्ट्रिय दायित्व भएको कम्पनीको भनाइ छ।
नेपालको डिजिटल कनेक्टिभिटीमा लामो समयदेखि काम गर्दै आएको वर्ल्डलिंकले व्यवसायभन्दा माथि उठेर विपद्को समयमा सरकार र नागरिकसँग हातेमालो गर्नुपर्ने मान्यताका साथ सहयोग गरेको जनाएको छ।
कम्पनीले आफ्नै पूर्वाधारमा ठूलो क्षति बेहोरेको अवस्थामा समेत १ करोड १ लाख रुपैयाँको सहयोग गरेर विपद् प्रभावित नागरिकप्रति मानवीय जिम्मेवारी निर्वाह गरेको जनाएको छ। उक्त सहयोगले बाढी तथा पहिरो प्रभावितको तत्कालीन राहतसँगै आगामी पुनःस्थापना र पुनर्निर्माणका प्रयासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस