शिक्षक सेवा आयोगको अध्यक्षमा डा. लम्साल, सदस्यमा सापकोटा र घिमिरे
काठमाडौं। सरकारले शिक्षा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साललाई नियुक्त गरेको छ। राष्ट्रपति कार्यालयको सचिवबाट अवकाशमा गएका डा. लम्सालले आयोगको अध्यक्ष बनाएको हो।
अध्यक्षमा नियुक्त डा. लम्साल शिक्षा प्रशासनको सहसचिवबाट सचिवमा बढुवा हुँदै सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव, बागमति प्रदेशको प्रमुख सचिव, युवा तथा खेलकुद मन्त्रालयको सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै राष्ट्रपति कार्यालयको सचिव बनेका थिए। राष्ट्रपति कार्यालयको सचिवबाट अवकाशमा गएको ६ महिनापछि लम्साल राजनीतिक नियुक्ति खान सफल भएका हुन्। उनी फागुन २३ गते ५८ वर्ष पूरा भएर घर गएका थिए। फेरि शिक्षक सेवा आयोगको अध्यक्ष बनेर सेवामा फर्किएका छन्।
शिक्षा प्रशासनको सहसचिवबाटै अवकाशमा गएका रामशरण सापकाेटा शिक्षक सेवा आयोगको सदस्य बनेका छन्। यसअघि पदमुक्तिमा परेका सापकोटा फेरि नियुक्ति खान सफल भएका हुन्। शिक्षक सेवा आयोगको महिला सदस्यमा भने विष्णु घिमिरे रिमाल नियुक्ति भएकी छिन्।
विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. लम्साललाई अध्यक्ष, सापकोटा र घिमिरेलाई सदस्यमा नियुक्त गरेको हो। उक्त नियुक्तिसँगै शिक्षक सेवा आयोगले पूर्णता पाएको छ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस