४ सहसचिव सरकारी सेवाबाट राजीनामा दिएर हिँडे
काठमाडौं। ३० वर्ष बढीको पेन्सन जोगाउन ४ सहसचिव एकसाथ राजीनामा दिएर हिँडेका छन्। सहसचिव शिवराम गेलाल, हरिप्रसाद घिमिरे, खिमबहादुर रायामाझी र प्रदिपराज अधिकारी राजीनामा दिएर हिँडेका हुन्।
झापाका प्रमुख जिल्ला अधिकारी रहेका गेलाल र दोलखाका प्रमुख जिल्ला अधिकारी रहेका हरिप्रसाद घिमिरेले राजीनामा दिएपछि त्यहाँ अर्को सिडिओ पठाइएको छ। गेलाल ५८ वर्ष पूरा भएर माघ १२ र घिमिरे मंसिर १४ गते अनिवार्य अवकाशमा जाँदै थिए। घिमिरेले साढे २ महिना अघि र गेलालले साढे ४ महिना अगाडि नै राजीनामा दिएर बाटो तताएका हुन्। ३८/३९ वर्ष सेवा अवधि भएका यिनीहरू ३० वर्ष बढीको पेन्सन जोगाउन चलाखीपूूर्ण ढंगले राजीनामा दिएर हिँडेका छन्।
राजीनामा दिने सूचीमा लुम्बिनी प्रदेशमा कार्यरत खिमबहादुर रायामाझी पनि थपिएका छन्। लुम्बिनी प्रदेशको लोक सेवा आयोगका सचिव खिमबहादुर रायामाझी पुस ८ गते अनिवार्य अवकाशमा जान लागेका हुन्। सहसचिव रायामाझीको महिना बढी जागिर बाँकी छ। उनले पनि ३० वर्ष पेन्सन जोगाउन राजीनामा दिएर बाटो तताएका हुन्।
४८ वर्षीय सहसचिव प्रदिपराज अधिकारीले पनि राजीनामा दिएका छन्। आदिवासी जनजाति आयोगका सचिव रहेका अधिकारी बेलैमा राजीनामा दिएर हिँडेका हुन्।
कम्पनी रजिष्ट्रारको कार्यलय, हुलाक सेवा विभाग जस्ता निकायको नेतृत्व गरेका अधिकारीले पहिलोपटक राजीनामा दिएका भने होइनन्। भूमिमा सहसचिव हुँदा पनि राजीनामा दिएका थिए। तर त्यो बेला उनको राजीनामा स्वीकृतिको प्रक्रियामा गएको थिएन। यसपटक भने सहसचिव अधिकारीले दिएको राजीनामा स्वीकृतिको प्रक्रियामा गएर मुर्त रूप लिएको छ। सरकारी सेवाप्रति लगाव नदेखाएका अधिकारीको राजीनामा स्वीकृत हुनु देश र उनको व्यक्तिगत दुबैको हितमा देखिन्छ।
क्याटेगोरी : समाचारट्याग : #खिमबहादुर रायामाझी, #प्रदिपराज अधिकारी, #शिवराम गेलाल, #हरिप्रसाद घिमिरे


तपाईको प्रतिक्रिया दिनुहोस