अन्धकार युगको अन्त्यतिर भोटखोला: एक हप्ताको जनचेतना अभियानपछि केन्द्रीय प्रसारण लाइन जोडिने, उच्च गतिको इन्टरनेटको पनि मार्गप्रशस्त
सङ्खुवासभामा। हिमाली जिल्ला सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट दुई दिनको दूरीमा रहेको अति विकट भोटखोला गाउँपालिकावासी अब छिट्टै राष्ट्रिय प्रसारण लाइनको उज्यालोमा जोडिने भएका छन्। स्थानीय स्तरमा सञ्चालित सीमित क्षमताका लघु जलविद्युत आयोजनाको भरमा बस्नुपर्ने बाध्यता र त्यसबाट उत्पन्न सास्ती अब सदाका लागि अन्त्य हुने भएको छ।
भौगोलिक रूपमा अति विकट यस गाउँपालिकामा अहिलेसम्म स्थानीयस्तरका साना जलविद्युत आयोजनाले मात्र ऊर्जाको माग धान्दै आएका थिए। तर, सीमित उत्पादन र जीर्ण तथा न्यून क्षमताका प्रसारण पूर्वाधारका कारण यहाँको विद्युत आपूर्ति सधैँ अनियमित र असहज हुँदै आएको थियो।
नेपाल विद्युत प्राधिकरणले गाउँपालिकाको केन्द्र हटियासम्म केन्द्रीय प्रसारण लाइन पुर्याई ट्रान्सफर्मर जडान गरिसकेको भए तापनि विद्युतको लाइन जोडिएको थिएन। यसले गर्दा स्थानीय सरकारको नियमित कार्यसञ्चालन, बैंक तथा वित्तीय संस्थाहरूको सेवा प्रवाह, अन्य सरकारी कार्यालयका कामकाज र आम नागरिकको दैनिकी अत्यन्तै कष्टकर बन्दै आएको थियो।
यसैबीच, हालै मात्र भोटखोलामा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृतले समस्या समाधानका लागि थालेको प्रभावकारी पहल र नेपाल विद्युत प्राधिकरणसँगको समन्वयले ठोस परिणाम ल्याएको छ। उनको निरन्तरको ताकेता र दृढ इच्छाशक्तिका कारण अब केही दिनमै केन्द्रीय प्रसारण लाइन जोडिने निश्चित भएको हो।
यस सहमतिअनुसार, नेपाल विद्युत प्राधिकरण र गाउँपालिकाले आ-आफ्नोतर्फबाट स्थानीय जनसमुदायमा सुरक्षा तथा प्रविधि प्रयोगको जोखिमबारे एक हप्तासम्म विभिन्न माध्यम र समुदायस्तरमै जनचेतना जगाउनेछन्। त्यसलगत्तै नेपाल विद्युत प्राधिकरणले केन्द्रीय प्रसारण लाइन औपचारिक रूपमा जोड्नेछ। यससँगै भोटखोलाका सरकारी कार्यालयहरू, बैंकहरू र स्थानीय बासिन्दाहरूले देशका अन्य सुगम क्षेत्रका नागरिकसरह भरपर्दो विद्युत सेवा उपभोग गर्न पाउने अवसर सुनिश्चित भएको छ।
कोशी करिडोरको उत्तरी खण्ड: विद्युतपछि उच्च गुणस्तरको फाइबर नेटको अपरिहार्यता
किमाथांका–जोगबनी जोड्ने रणनीतिक र व्यापारिक महत्त्वको कोशी करिडोरको उत्तरी खण्डमा पर्ने भोटखोलामा विद्युतको भरपर्दो व्यवस्था भएपछि अब यहाँ उच्च गुणस्तरको इन्टरनेट पुर्याउनुपर्ने नयाँ आवश्यकता सिर्जना भएको छ।
नेपालकै दुर्गममध्येको भोटखोलामा विद्युत आपूर्ति सुनिश्चित भएलगत्तै नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोष (RTDF) मार्फत यस क्षेत्रमा उच्च गुणस्तरको फाइबर नेट विस्तार गर्नुपर्ने अपरिहार्यता छ। चीनसँग जोडिएको र बाह्रै महिना निर्वाध रूपमा सञ्चालन गर्न सकिने कम उचाइमा अवस्थित सामरिक तथा व्यापारिक महत्त्वको किमाथांका नाकामा सीमा प्रशासन कार्यालय र भन्सार कार्यालय स्थापना तथा सञ्चालन गर्नका लागि पनि यो डिजिटल तथा सञ्चार पूर्वाधार अनिवार्य भएको छ।
सडक पहुँच, विद्युत लाइन र उच्च गतिको इन्टरनेटजस्ता आधारभूत पूर्वाधारको सुनिश्चितता भएपछि भोटखोला गाउँपालिकाको समग्र विकास, डिजिटल पहुँच, सुशासन प्रवर्द्धन र मुलुककै अन्तर्राष्ट्रिय व्यापारिक गतिविधिलाई चलायमान बनाउन एक महत्त्वपूर्ण कोशेढुङ्गा सावित हुनेछ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस