प्रधानमन्त्री कार्यालयबाट गएर महानिर्देशक बनेका सहसचिव


काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गएका सहसचिवहरूलाई महानिर्देशकमा खटाउन थालिएको छ। राजस्व, भन्सार, वैदेशिक रोजगार जस्ता विभागका महानिर्देशक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गएका सहसचिव बनेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गएका डा. भीष्मकुमार भुसाल आन्तरिक राजस्व विभाग, यमलाल भुसाल भन्सार विभाग र नवराज ढकाल वैदेशिक रोजगार विभागको महानिर्देशक बनेका हुन्।

पछिल्लो समय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेर विश्वास जितेका सहसचिवहरू महत्त्वपूर्ण विभागको जिम्मेवारी पाउन थालेका छन्। प्रधानमन्त्री कार्यालयमा बसेर केही गर्ने हुटहुटी देखाएका सहसचिवहरूलाई आकर्षक विभागमा खटाउन थालिएको हो।

भीष्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको शासकीय सुधार महाशाखा प्रमुख, यमलाल क्याबिनेट र नवराज पूर्वाधार महाशाखा प्रमुखको भूमिकामा थिए। सरकारले प्रधानमन्त्री कार्यालयमा कार्यरत ३ जना सहसचिवलाई काम गरेर देखाउने विभागमा खटाएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेर काम देखाउन नसकेका सहसचिवलाई भने महत्त्वपूर्ण जिम्मेवारीमा खटाइएको छैन। प्रधानमन्त्री कार्यालयको आार्थिक मामिला तथा नीति विश्लेषण महाशाखा प्रमुख रहेका केशवराज सुवेदीलाई राष्ट्रिय तथ्याङ्क कार्यालयमा पठाइएको छ। प्रधानमन्त्री कार्यालयबाट ‘बेकामे’ कार्यालयमा जाने सहसचिवमा सुवेदी पर्छन्। त्यसैले प्रधानमन्त्री कार्यालयमा काम देखाउने र नदेखाउनेलाई त्यहिँ अनुसारको जिम्मेवारीमा खटाएको देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #डा. भीष्मकुमार भुसाल सहसचिव, #नवराज ढकाल, #यमलाल भुसाल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ