सिडिओ कार्यालय सुनसरीका करारका कर्मचारीसहित दुई जनाको मृत्यु


इनरुव। सुनसरीको इटहरीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । इटहरीबाट इनरुवातर्फ जाँदै गरेको मोटरसाइकल इटहरी उपमहानगरपालिका–७ र १७ को सीमास्थित कल्भर्टमा अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा इनरुवा–३ का ३४ वर्षीय सागर रेग्मी र सोही स्थानका २९ वर्षीय पारस थापा रहेका छन् ।

रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत कर्मचारी हुन् । उनी सुनसरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ)का स्वकीय सचिवका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, थापा जिल्ला प्रशासन कार्यालय सुनसरीको राष्ट्रिय परिचयपत्र फाँटमा कार्यरत थिए । उनले केही समयअघि पदबाट राजीनामा दिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार दुर्घटना राति करिब २ बजे भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि राति नै धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

उपचारका क्रममा दुवै जनालाई बिहान करिब ५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ