राजीनामा दिने सहसचिव एक दर्जन नाघे, दशैं खर्च लिएपछि संख्या थपिने उच्च सम्भावना


काठमाडौं। नेपाल प्रशासन सेवाबाट राजीनामा दिएर हिँड्ने सहसचिव एक दर्जन नाघेका छन्। उक्त सूचीमा चालू आर्थिक वर्षभित्रै अवकाशमा जाने आधा दर्जन बढी सहसचिव रहेका हुन्।

हालै रक्षा मन्त्रालयका सहसचिव रूद्रप्रसाद पण्डित, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा कार्यरत सहसचिव रामहरि ज्ञवाली र लगानी बोर्डका सहसचिव ऋषिराज आचार्यले राजीनामा दिएका छन्। पण्डितको पुससम्म जागिर बाँकी छ। आचार्यको भने २०८५ असारसम्म करिब दुई वर्ष जागिर बाँकी छ।

सहकारीमा देखिएको बेथिति छानबिन आयोगले सहसचिव पण्डितलाई कारबाहीको सिफारिस गरेको छ। पूर्वाधार विकास मन्त्रालय (साविकको खानेपानी गाभिएपछि बनेको मन्त्रालय)मा हुँदै राजीनामा दिने तरखरमा रहेका पण्डित रक्षामा सरूवा भएपछि केही समय थामिएका थिए। ३/४ महिना जागिर भएका र आयोगको सिफारिस बमोजिम विस्तृत छानबिन तथा कारबाही प्रक्रिया अघि बढाउनु पर्ने सहसचिव पण्डित रक्षा मन्त्रालयले पठाउने निर्णयको आलोचना हुँदै आएको थियो। पेन्सन जोगाउन विवादित सहसचिव पण्डितले पदबाट राजीनामा दिएका छन्।

राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा कार्यरत सहसचिव रामहरि ज्ञवाली अवकाशको ८ महिना अगाडि नै राजीनामा दिएका छन्। रामहरि ५८ वर्ष पूरा भएर वैशाख १४ गते अनिवार्य अवकाशमा सूचीमा थिए। पेन्सन जोगाउन उनले पनि राजीनामा दिएका हुन्।

सचिव हुने लाइनमा रहेका ४८ वर्षीय सहसचिव प्रदिपराज अधिकारीले पनि राजीनामा हिँडेका छन्। आदिवासी जनजाति आयोगका सचिव रहेका अधिकारी बेलैमा राजीनामा दिएर हिँडेका हुन्। सबैभन्दा लामो जागिर भएर पनि राजीनामा दिने सहसचिवमा अधिकारी पर्छन्।

३०-५५ लागू नहुने साढे ३ वर्ष बढी जागिर भएकी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत शिवादेवी दाहालले पनि राजीनामा दिएर हिँडेकी छिन्। २०८६ माघसम्म जागिर रहेकी दाहाल सरकारी सेवाबाट अलग भइसकेकी छिन्।

२०८४ चैतसम्म डेढ वर्ष बढी जागिर रहेका सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख सहसचिव गोपीकृष्ण कोइरालाले पनि राजीनामा दिइसकेका छन्। ५६ वर्ष उमेर पूरा भएका उनी राजीनामा दिएर पेन्सन जोगाउनतिर लागेका हुन्।

२०८४ माघसम्म डेढ वर्ष जागिर बाँकी रहेका राष्ट्रिय योजना आयोगमा कार्यरत सहसचिव लोकप्रसाद न्यौपानेले साढे ५६ वर्षकै उमेरमा राजीनामा दिएर आफ्नो बाटो लागेका छन्। उनले पनि ‘पेन्सन’ र ‘टेन्सन’बाट जोगिने बाटो रोजेका हुन्।

डेढ वर्षभन्दा कम २०८४ मंसिरसम्म जागिर बाँकी रहेका सहसचिव टेकनारायण पौडेल पनि राजीनामा दिएर हिँडेका छन्। खटाएको ठाउँ तुल्सीपुर उपमहानगरपालिकामा गएर काम गर्न नखोजेका ५५ पारीका सहसचिव पौडेलले मार्गप्रशस्त गरेका हुन्। काम नै नगरी जागिर खानुभन्दा राजीनामा दिनु राम्रो हो भनेर उनले त्यहीँ विकल्प रोजेको देखिन्छ।

यिनीहरूबाहेक चालू आर्थिक वर्षमा घर जाने तयारीमा रहेका सहसचिवहरू विनोद लामिछाने, चन्द्रबहादुर शिवाकोटी र लेखनाथ ज्ञवाली राजीनामा दिएर घर जानेमा पर्छन्। लामिछाने असोज १४ गते, शिवाकोटी र ज्ञवाली असोज २७ गते ५८ वर्ष पूरा भएर घर जाने सूचीमा थिए। घर जाने बेलामा जगेडामा बस्नुभन्दा राजीनामा दिनु नै उनीहरूका लागि उत्तम विकल्प थियो। उनीहरूले सोही बाटो रोजेका हुन्।

त्यस्तै सहसचिव हरिप्रसाद घिमिरे मंसिर १४ गते, खिमबहादुर रायामाझी पुस ८ गते र शिवराम गेलाल माघ १२ गते घर जाने सूचीमा थिए। ५८ वर्ष पूरा भएर ३ महिनापछि अनिवार्य अवकाशमा जान लागेका घिमिरे ३ महिना अगाडि, रायामाझी ४ महिना अगाडि र गेलाल ५ महिना अगाडि राजीनामा दिएर पेन्सन जोगाउन अग्रसर भएका हुन्। उक्त सूचीमा विवादित सहसचिव पण्डित, रामहरि ज्ञवाली र लामो समय प्रदेश बसेर आएका सहसचिव आचार्य थपिएका छन्।

पाको उमेर र सरकारी सेवाबाट थकित, जोस-जाँगर हराएका सहसचिवहरू राजीनामा दिएर हिँड्न थालेका छन्। पेन्सनको टेन्सन लिने उक्त सूचीमा बढी देखिएका हुन्। दशैं खर्च लिएर केही ‘लुब्ध’ उपसचिव र सहसचिव राजीनामा दिने सूचीमा थपिने सम्भावना देखिन्छ।

राजीनामा दिने सहसचिवरू

➡️शिवादेवी दाहाल,

➡️लोकप्रसाद न्यौपाने,

➡️टेकनारायण पौडेल,

➡️विनोद लामिछाने,

➡️चन्द्रबहादुर शिवाकोटी,

➡️लेखनाथ ज्ञवाली,

➡️गोपीकृष्ण कोइराला,

➡️हरिप्रसाद घिमिरे,

➡️शिवराम गेलाल,

➡️खिमबहादुर रायामाझी,

➡️प्रदिपराज अधिकारी,

➡️रूद्रप्रसाद पण्डित,

➡️ऋषिराम आचार्य,

➡️रामहरि ज्ञवाली

क्याटेगोरी : समाचार
ट्याग : #ऋषिराम आचार्य, #खिमबहादुर रायामाझी, #गोपीकृष्ण कोइराला, #चन्द्रबहादुर शिवाकोटी, #टेकनारायण पौडेल, #प्रदिपराज अधिकारी, #रामहरि ज्ञवाली, #रूद्रप्रसाद पण्डित, #लेखनाथ ज्ञवाली, #लोकप्रसाद न्यौपाने, #विनोद लामिछाने, #शिवराम गेलाल, #शिवादेवी दाहाल, #हरिप्रसाद घिमिरे

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ