नर्सलाई कारबाही गर्नु अघि जनशक्ति मापदण्ड हेरौँ, जनसङ्ख्या घट्यो भन्दै परिवार नियोजन रोक्नु गलत
काठमाडौँ । नेपालमा छोराको तुलनामा छोरीको जन्मदर कम हुँदै गएको अवस्थाप्रति प्रजनन स्वास्थ्य अभियन्ता डा. लक्ष्मी तामाङले चिन्ता व्यक्त गरेकी छन्। छोरीलाई गर्भमै हत्या गर्ने प्रवृत्ति रोक्नुपर्ने भन्दै उनले यस्तो अपराध गर्ने छुट कसैलाई पनि नभएको बताएकी छन्।
उनका अनुसार छोरीको जन्मदरमा देखिएको असन्तुलनले दीर्घकालमा सामाजिक तथा जनसांख्यिक समस्या निम्त्याउन सक्छ। यही अवस्था कायम रहे भविष्यमा विवाहयोग्य उमेर समूहमा महिला–पुरुषको संख्यात्मक असन्तुलनले वैवाहिक सम्बन्धमा समेत असर पार्न सक्ने उनको भनाइ छ।
तर जनसङ्ख्या घट्दै गएको भन्दै परिवार नियोजनका साधनमा प्रतिबन्ध लगाउने वा प्रयोग घटाउनुपर्ने तर्क भने गलत भएको तामाङ बताउँछिन्। उनका अनुसार जनसङ्ख्या वृद्धिमा परिवार नियोजनको योगदान निकै सीमित छ। परिवार नियोजनलाई जनसङ्ख्या घट्नुको मुख्य कारणका रूपमा प्रस्तुत गर्नुभन्दा वैदेशिक रोजगारी, बाँझोपनलगायतका विषयलाई समेत समग्र रूपमा हेर्नुपर्ने उनको भनाइ छ।
तामाङले आर्थिक रूपमा सम्पन्न परिवारले सन्तानका लागि सेरोगेसीमार्फत अरू महिलाको कोख प्रयोग गर्ने तर आर्थिक रूपमा विपन्न महिलाका लागि परिवार नियोजनका साधनमा प्रतिबन्ध लगाउनुपर्ने तर्क गर्नु विरोधाभासपूर्ण भएको बताइन्।
उनका अनुसार गरिब तथा विपन्न महिलाले परिवार नियोजनका साधन प्रयोग गर्न पाउने अधिकार र पहुँचलाई कमजोर बनाउने नीति उनीहरूको स्वास्थ्य तथा सामाजिक जीवनमा थप बोझ बन्न सक्छ। त्यसैले जनसङ्ख्या घटेको बहानामा परिवार नियोजनका साधन रोक्नेभन्दा तथ्य र प्रमाणका आधारमा दीर्घकालीन जनसांख्यिक नीति बनाउनुपर्नेमा उनले जोड दिएकी छन्।
क्याटेगोरी : भिडियो, समाचारट्याग : ##laxmi tamang, ##Nurse Nepal, ##swasthyalivenews


तपाईको प्रतिक्रिया दिनुहोस