भूमि समस्या समाधान समिति झापाबाट २६ जना अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण 


झापा। बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ शान्तिनगर १ ज नक्साबाट साविकदेखि नै स्थायी रूपमा भोगचलन गरी आएका २६ अव्यवस्थित बसोबासी परिवारलाई लालपूर्जा वितरण गरिएको छ।भूमि समस्या समाधान समिति झापाका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल र गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले संयुक्त रुपमा लालपुर्जा वितरण गरेका छन् ।

साविकका आयोगबाट नापनक्सा भई फिल्ड बुक कायम भइसकेको तथा विभिन्न कारणले वितरण हुन नसकेको २६ परिवारलाई कुल दुई बिघा छ कट्टा आठ धुर जग्गाको लालपुर्जा वितरण गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जनाए।

भूमिहीन दलित र भूमिहीन सुकुम्बासी लाई जग्गा उपलब्ध गराउने सरकारको पहिलो प्राथमिकता रहेको भएपनि आजको वितरण कार्यक्रममा अव्यवस्थित बसोबासी मात्र समावेश भएकाछन्।

‌‌‌‌बुद्धशान्ति गाउँपालिकाबाट भूमिहीन दलित ३१ परिवार र भूमिहीन सुकुम्बासी १४८ परिवारले आवेदन दिएको भएतापनि स्थानीय तहबाट प्रमाणिकरण भई समितिमा प्राप्त भइ नसकेको कारण वितरण गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए। प्रमाणीकरण भई आएमा पहिलो प्राथमिकतामा राखी प्रचलित कानुन बमोजिम मिल्ने प्रकृतिको भए जग्गा वितरण गरिने प्रजिअ पोखरेलले भनाइ छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ