रितेश शाक्यले सम्हाले वाणिज्य विभागको कमाण्ड


काठमाडौं। सहसचिव रितेशकुमार शाक्यले वाणिज्य विभागको कमाण्ड सम्हालेका छन्। राष्ट्रपति कार्यालयबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरूवा भएर आएका शाक्यलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकको जिम्मेवारी दिइएको हो। जिम्मेवारी पाउनेबित्तिकै शाक्य विभागमा पुगेर कमाण्ड सम्हालिसकेका छन्।

वाणिज्य विभागका महानिर्देशक मोतिराम सापकाेटा गृह मन्त्रालय हुँदै गुल्मीको सिडिओ भइसकेका छन्। सापकोटाले विभाग छाडेको एक हप्तापछि मात्र शाक्यलाई विभागमा पठाइएको हो। वाणिज्य विभागमा छोटो समयमै महानिर्देशक फेरिने प्रवृत्ति चलिरहेका बेला शाक्य नेतृत्व सम्हाल्न पुगेका हुन्।

कर्मचारी वृत्तमा चर्चित रहेका साठ्ठीसाले लेखा अधिकृतमा पर्ने शाक्य यसअघि विभागमध्ये कै ठूलो र शक्तिशाली आन्तरिक राजस्व विभागको महानिर्देशक भइसकेका छन्। त्यो हिसाबले उनलाई वाणिज्य विभाग चलाउन सहजै हुने देखिन्छ। अर्थ मन्त्रालयमा बसेर बजेट लेखेका शाक्यलाई महँगी र कालाबजारी नियन्त्रण गर्ने जिम्मेवारी आएको छ। दसैँ/ तिहास जस्ता चाडपर्वमा वाणिज्य विभागको बजार अनुगमनमा मुख्य भूमिका रहने गरेको छ। आन्तरिक राजस्व विभागमा हुँदा शाक्यलाई अन्त:शुल्क स्टिकर काण्डले सताएको थियो। वाणिज्यमा पनि चलाउन जनाने भने जोखिमपूर्ण विभागनै हो।

सहसचिव शाक्य वीर अस्पतालमा केही महिना ‘पेण्डुलम’ बनेर राष्ट्रपति कार्यालय हुँदै वाणिज्य विभागको नेतृत्व सम्हाल्न पुगेका छन्। विभागमा बसेर उनले कति प्रभावकारी काम गर्छन् त्यो भने हेर्न बाँकी छ।

 

क्याटेगोरी : समाचार
ट्याग : #रितेशकुमार शाक्य

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ