भाइ रवि सचिवबाट घर भए, दाइ महादेव सचिवबाट घर जाने तयारीमा
काठमाडौं। राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थ अवकाशमा गइसकेका छन्। ५ वर्ष सचिव चलाएर रवि घर गएका हुन्। रविका दाइ महादेव भने अझै नेपाल सरकारको सचिवमा कार्यरत छन्। राष्ट्रपति कार्यालयका सचिव महादेव ५८ वर्ष पूरा भएर पुस मसान्तमा अनिवार्य अवकाशमा जाने सूचीमा छन्। महादेव पनि सचिवबाट घर जाने तयारीमा लागेका हुन्।
२०२८ साल जेठका रवि २०६९ फागुनमा सहसचिव र २०७८ असोजमा नेपाल सरकारको सचिव भएका थिए। उनी २०५७ असारका शाखा अधिकृत हुन्। भाइभन्दा एक वर्ष पछाडि २०७० चैतमा सहसचिव भएका महादेव २०८१ भदौंमा सचिवमा बढुवा भएका हुन्। भाइ रविभन्दा ३ वर्षपछि सचिव बनेका महादेव रवि घर गएको ३ महिनापछि घर जाने सूचीमा छन्।
पञ्चायती काल २०४४ सालमै सरकारी सेवामा प्रवेश गरेका महादेव ३९ वर्षदेखि सरकारी सेवामा छन्। ३० वर्षे बढीको पेन्सन नदिने सरकारी विधेयकप्रति उनी असन्तुष्ट रहेको राष्ट्रपति कार्यालयका अधिकारीहरू बताउँछन्।
रवि र महादेवका दाइ कृष्णप्रसाद पन्थ पनि नेपाल सरकारको सहसचिवबाट अवकाश भएका हुन्। महादेव सचिव हुन लाग्दा कृष्ण घर गएका हुन्। त्यसपछि रवि घर गए। अब घर जाने पालो महादेवको आएको छ। दाजुभाइ नै सचिव भएका पन्थ परिवारका भाइ रवि घर गएपछि दाइ महादेव पनि घर (अवकाश)मा जाने तरखरमा छन्।
क्याटेगोरी : समाचारट्याग : #कृष्णप्रसाद पन्थ, #दाइभाइ सचिव, #पन्थ दाजुभाइ सचिव, #महादेव पन्थ, #रविलाल पन्थ


तपाईको प्रतिक्रिया दिनुहोस