बढुवा हुनेबित्तिकै संघमा पदस्थापन भएका प्रशासन सेवाका सचिवहरू


काठमाडौं। पछिल्लाे समय नेपाल प्रशासन सेवाको सचिवमा बढुवा हुने ‘भाग्यमानी’ देखिन थालेका छन्। सरकारले पछिल्लो समय बढुवा गरेका सचिवहरूलाई संघमा पदस्थापन गर्न थालेको छ। सचिवमा बढुवा भएसँगै प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने ‘ट्रेन्ड’लाई तोड्दै संघमै पदस्थापन गर्न थालिएको हो।

इन्दु घिमिरेबाट सुरू भएको उक्त ‘ट्रेन्ड’ चक्रबहादुर बुढासम्म आइपुगेको छ। सरकारले पछिल्लो समय भटाभट सचिव बढुवा गरिरहेको छ। कमलप्रसाद भट्टराईदेखि चक्रबहादुर बुढासम्म आइपुग्दा नेपाल प्रशासन सेवामा ९ जना सचिव बढुवा भइसकेका छन्। ९ जना सचिवमध्ये ४ जना संघमा पदस्थापन भएका हुन्।

संघमा पदस्थापन हुने सचिवमा इन्दु घिमिरे, कालीप्रसाद पराजुली, रुद्रसिंह तामाङ र चक्रबहादुर बुढा रहेका छन्। घिमिरेको रक्षा मन्त्रालय; पराजुलीको अख्तियार दुरूपयोग अनुसन्धान आयोग; तामाङ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र बुढा राष्ट्रिय सतर्कता केन्द्रमा पदस्थापन भएका हुन्।

घिमिरे, पराजुली, तामाङ र बुढाकै ‘लट’मा सचिवमा बढुवा भएका कमलप्रसाद भट्टराई बागमती प्रदेशको प्रमुख सचिव, नारायणप्रसाद भट्ट कोशी प्रदेशको प्रमुख सचिव, विनोदबहादुर कुँवर लुम्बिनी प्रदेशको प्रमुख सचिव, उत्तरकुमार खत्री सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव र आभा श्रेष्ठ गण्डकी प्रदेशको प्रमुख सचिवमा पदस्थापन भएको छ। ‘ब्याची’हरू प्रदेशको प्रमुख सचिवमा पदस्थापन हुँदा इन्दु घिमिरे, कालीप्रसाद पराजुली, रुद्रसिंह तामाङ र चक्रबहादुर बुढा संघमा पदस्थापन गर्न सफल भएका छन्। सरकारले संघ र प्रदेशमा मिलाएर सचिव व्यवस्थापन गर्न थालेको छ। प्रदेशबाट ल्याउनु पर्ने खालका सचिव नभेटेपछि सरकारले बढुवा हुनेबित्तिकै आवश्यकताको सिद्धान्त अनुसार सचिवहरू संघमा व्यवस्थापन गर्न थालेको हो।

क्याटेगोरी : समाचार
ट्याग : #इन्दु घिमिरे, #कालीप्रसाद पराजुली, #चक्रबहादुर बुढा, #रुद्रसिंह तामाङ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ