दसैँ बिदामै अवकाशमा जाँदैछन् दुई सहसचिव
काठमाडौं। दसैँ बिदामा नेपाल सरकारका दुई सहसचिव अनिवार्य अवकाशमा जाँदैछन्। दसैँको बिदा बीचमै अनिवार्य अवकाशमा जाने सहसचिव शरदकुमार शर्मा र हरिशरण पुडासैनी हुन्।
दसैँ बिदा कार्तिक ६ गतेसम्म छ। शनिबार र आइतबार बिदा परेकाले एकैपटक ९ गते सोमबार सरकारी कार्यालय खुल्छ। आइतबार कोजाग्रत पूर्णिमा परेको छ। त्यसको भोलिपल्ट सोमबारदेखि मात्र सरकारी कार्यालय खुल्ने देखिन्छ। उक्त बिदाको अवधिमा सहसचिव शरदकुमार शर्मा र हरिशरण पुडासैनी अवकाशमा गइसकेका हुनेछन्।
हाल राष्ट्रिय तथ्याङ्क कार्यालय सहसचिव शरदकुमार शर्मा कार्तिक ४ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। त्यसको पर्सीपल्ट राष्ट्रिय योजना आयोगका सहसचिव हरिशरण पुडासैनी कार्तिक ६ गते अनिवार्य अवकाशमा जाने भएका हुन्। दसैँ बिदा सकिंदा सहसचिव शर्मा र पुडासैनी ५८ वर्ष पूरा भएर घर गइसकेका हुनेछन्। दसैँ बिदाका कारण उनीहरूले अवकाशको अनुभूति समेत लिन नपाउने भएका हुन्।
कार्तिक महिनाभित्रै सहन्यायाधिवक्ता गंगाप्रसाद पौड्याल, सहसचिव महेशचन्द्र न्यौपाने, हरिकुमार पोखरेल, दीर्घनारायण कोइराला र रूद्रप्रसाद लामिछाने अवकाशमा जानेछन्।
सहन्यायाधिवक्ता गंगाप्रसाद पौडेल कार्तिक १२ गते, पूर्वाधार विकास मन्त्रालयका सहसचिव महेशचन्द्र न्यौपाने (इन्जिनियरिङ) कार्तिक १६ गते, पूर्वाधार विकास मन्त्रालय कै सहसचिव हरिकुमार पोखरेल (इन्जिनियरिङ) कार्तिक १६ गते, सुदूरपश्चिम प्रदेशका सचिव (सहसचिव) दीर्घनारायण कोइराला (वन) कार्तिक १७ गते र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा थन्क्याइका सहसचिव रूद्रप्रसाद लामिछाने कार्तिक १८ गते ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जान लागेका हुन्। यिनीहरूको अवकाश भने दसैँ र तिहारको बीचमा हुनेछ।
क्याटेगोरी : समाचारट्याग : #शरदकुमार शर्मा, #हरिशरण पुडासैनी


तपाईको प्रतिक्रिया दिनुहोस