दिल्लीका इकोनोमिक मिनिष्टर अधिकारी र बेइजिङकी अर्याल आए फिर्ता
काठमाडौं। भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावास कार्यरत ‘इकोनोमिक मिनिष्टर’ तारानाथ अधिकारी र चीनको बेइजिङस्थित नेपाली राजदूतावासमा कार्यरत पार्वती अर्याल फिर्ता आएका छन्। दुबै इकोनोमिक मिनिष्टर फिर्ता आइसकेको परराष्ट्र मन्त्रालयका सूचना अधिकारी गायत्रीबहादुर पौडेलले बताए। उनीहरू राजदूतावास छाडेर नेपाल फर्किएका हुन्।
परराष्ट्र मन्त्रालयको स्वीकृत संगठन संरचना अनुसार दिल्ली र बेइजिङमा रहेको नेपाल प्रशासन सेवाको सहसचिव पद हटाएको छ। ‘ओएन्डएम’बाटै हटाइएपछि दिल्लीमा रहेका नेपाल प्रशासन सेवाका सहसचिव (इकोनोमिक मिनिष्टर) तारानाथ अधिकारी र बेइजिङमा कार्यरत पार्वती अर्याल फाजिलमा परेका थिए। परराष्ट्र मन्त्रालयको निर्देशनपछि अधिकारी र अर्याल स्वदेश फर्किएका हुन्।
माओवादी निकट सहसचिव अधिकारी भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावास ‘इकोनोमिक मिनिष्टर’ भएर गएको ३ वर्ष पूरा भएको थियो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिव समेत रहिसकेका अधिकारी भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा आर्थिक मामिला हेर्ने कुटनीतिज्ञ (इकोनोमिक मिनिस्टर)को भूमिकामा थिए। कास्कीको एलडिओ र सिडिओ दुबै भएका अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पर्यटन विभागको महानिर्देशक, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग हुँदै दिल्ली दूतावासमा इकोनोमिक मिनिस्टर बन्न सफल भएका थिए। माओवादी सत्ताबाट सधै लाभ लिएका अधिकारी दरबन्दी कटौती भएपछि परराष्ट्र मन्त्रालयमा फिर्ता भएका हुन्।
त्यस्तै चीनको बेइजिङस्थित नेपाली राजदूतावासमा इकोनोमिक मिनिस्टर भएर गएकी पार्वती अर्याल करिब डेढ वर्षमै नेपाल फर्किएकी छिन्। अधिकारी र अर्याल दुबै सहसचिव प्रदेश नजानेमा पर्छन्। उनीहरूलाई क्याबिनेटले अन्यत्र व्यवस्थापन गर्ने देखिन्छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस