ठूलो संख्यामा लेखाका उपसचिवको सरूवा तयारी
काठमाडौं। महालेखा नियन्त्रक कार्यालयले ठूलो संख्यामा लेखाका उपसचिवको सरूवा तयारी गरेको छ। कार्यालयले नयाँ मापदण्ड ल्याएर लेखा उपसचिवको सरूवा तयारी गरेको हो।
शोभाकान्त पौडेलको मधेश प्रदेशमा सरूवा भएपछि केही महिना महालेखा नियन्त्रक खाली भएको थियो। महालेखा नियन्त्रक नहुँदा सरूवा पनि रोकिएको थियो। बैकुण्ठप्रसाद अर्याल महालेखा नियन्त्रक र गोकुल बाँस्तोला प्रशासन हेर्ने सहमहालेखा नियन्त्रक भएर आएपछि नयाँ मापदण्ड बनाएर सरूवा प्रक्रिया अघि बढाउने तयारी थालिएको हो।
नेपाल प्रशासन सेवा, लेखा समूहको जनशक्ति व्यवस्थापन मापदण्ड, २०८३ मा काठमाडौं उपत्यकामा लामो समय बसेका कर्मचारीलाई प्राथमिकताका आधारमा उपत्यका बाहिर पठाइने उल्लेख छ। काठमाडौं उपत्यकाका जिल्लाहरूसहित झापा, मोरङ, सुनसरी, धनुषा पर्सा, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, कास्की रूपन्देही, बाँके, दाङ, सुर्खेत, कैलाली र कञ्चनपुर जिल्लास्थित कार्यालयहरूमा लगातार तीन कार्यालय वा सोभन्दा बढी अवधि सेवा गरेका कर्मचारीलाई साविकमा कार्यरत जिल्लाभन्दा भिन्न जिल्लाका कार्यालयहरूमा सरूवा गर्नेगरी प्राथमिकता दिइने भनिएको छ। महालेखा नियन्त्रक र कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत कर्मचारीलाई केही राहत दिने गरी मापदण्ड तय भएको हो।
अघिल्लो मापदण्डमा (क), (ख), (ग) र घ वर्ग भनेर वर्गिकरण गरिएको थियो। सडक विभाग, स्वास्थ्य सेवा विभाग, आयोजना जस्ता (क) वर्गका आकर्षक निकायमा बसेकालाई अन्यन्त्र पठाउने व्यवस्था थियो। तर, हालको मापदण्डबाट उक्त कुरा हटाइएको छ। विगतमा आकर्षक कार्यालयमा बसेकालाई फेरि त्यस्तै प्रकृतिको कार्यालयमा पठाउने उक्त प्रावधान हटाइएको आशंका गर्न थालिएको छ। त्यो विषयमा थाहा पाउन भने सरूवासम्म कुर्नैपर्ने हुन्छ।





तपाईको प्रतिक्रिया दिनुहोस