राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले शुरू गर्यो टेलिमेडिसिन सेवा
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रविधिको माध्यमबाट विशेषज्ञ स्वास्थ्य सेवालाई आम नागरिकको पहुँचमा पुर्याउने उद्देश्यले टेलिमेडिसिन सेवा सुरु गरेको छ।
सेवा शुभारम्भको पहिलो दिन शिवराज अस्पतालको अनुरोधमा प्रतिष्ठानको इन्टरनल मेडिसिन विभागका चिकित्सक डा. सञ्जय पौडेलले पहिलोपटक टेलिमेडिसिनमार्फत स्वास्थ्य परामर्श प्रदान गरे ।
प्रतिष्ठानले यस सेवालाई नियमित र व्यवस्थित रूपमा सञ्चालन गर्न आफ्ना स्याटेलाइट अस्पताल तथा सामुदायिक स्वास्थ्य संस्थाहरूसँग समन्वय र सहकार्य गर्ने जनाएको छ। यसका लागि प्रतिष्ठानका विभिन्न विभाग तथा शाखामा कार्यरत विशेषज्ञ चिकित्सकहरूको नियमित परामर्श तालिका तयार गरी टेलिमेडिसिन सेवा कक्ष दैनिक सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ।
प्रतिष्ठानले आगामी दिनमा लुम्बिनी प्रदेशका दुर्गम जिल्लाहरूमा सेवालाई क्रमश बिस्तार गर्ने प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले जानकारी दिए ।
सेवा सञ्चालनका लागि प्रतिष्ठानका निर्देशक, सह प्राध्यापक डा. सुरेश रसाइली, सह निर्देशक डा. निरोज खनाल, कन्सल्टेन्ट फिजिसियन डा. सञ्जय पौडेल, टेलिमेडिसिन फोकल पर्सन डा. द्रोणाचार्य घिमिरेसहित अस्पताल प्रशासन र सूचना प्रविधि विभागले समन्वय गरेका थिए ।
त्यसैगरी शिवराज अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अभिषेक मिश्रा र प्रशासकीय अधिकृत तथा मेडिकल अफिसर डा. दुर्गेशलाल चौधरीको पनि सेवा सञ्चालनमा भूमिका रहेको छ।
डिजिटल प्रविधिको माध्यमबाट विशेषज्ञ तथा उपविशेषज्ञ स्वास्थ्य परामर्शलाई सहज, सुलभ र प्रभावकारी बनाउँदै स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नु टेलिमेडिसिन सेवाको मुख्य उद्देश्य रहेको प्रतिष्ठानले जनाएको छ।
प्रविधिको पहुँच र प्रयोग गर्न सक्ने स्वदेश तथा विदेशमा रहनुभएका बिरामीहरूले अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको टेलिमेडिसिन सेवामार्फत विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परामर्श तथा उपचार सेवा प्राप्त गर्न सक्नेछन्।
भौगोलिक दूरी र समयको बाध्यतालाई कम गर्दै बिरामीले आफू रहेकै स्थानबाट प्रविधिको माध्यमबाट प्रतिष्ठानका विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष परामर्श लिन सक्ने व्यवस्था गरिएको अस्पताल निर्देशक, सह प्राध्यापक डा. सुरेश रसाइलिले बताए ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस