३०-५५ लागू भए ९-१० वर्ष सहसचिव भइसकेका सचिवमा बढुवा हुने
समाचार टिप्पणी
काठमाडौं। ३०-५५ लागू भए अनुभवी कर्मचारी बाहिरिने चर्चा चलिरहेको छ। ३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेर हदका कारण अवकाशमा दिने कानुन ल्याउदा नेपाल प्रशासन सेवाका सचिवहरू धेरै बाहिरिने छन्। त्यस्ता सचिवको ठाउँमा नयाँ सचिव ल्याउदा ८-१० वर्ष सहसचिव चलाइसकेका कर्मचारी सचिव हुने देखिन्छ।
अहिले बजारमा ३०-५५ ल्याए अनुभवी कर्मचारी बाहिरने भनेर एउटा जमात उखरमाउलो गरेर हिँडिरहेको छ। उक्त जमात हेर्दा सहसचिव भएको ५-६ वर्षभित्रै सचिवमा बढुवा भएर घर जानेको संख्या बढी देखिन्छ। ३०-५५ लागू भएपनि कम्तिमा ९ वर्ष सहसचिवको अनुभव लिएको कर्मचारी मात्र सचिवमा बढुवा हुने सूचीमा छन्। ‘घूस खान’, फाइल घुमाउन, निर्णय प्रक्रियामा ढिलासुस्ती गर्न, राम्रा आयोजना र कार्यालय ताक्न, अतिरिक्त सुविधा र कमाइ गर्न, सुशासनलाई हुर्मत लिन अनुभव खोजेको हो भने फरक कुरा हो नत्र ३०-५५ लागू भए अनुभवी कर्मचारी बाहिरिने रोइलोमा भने कुनै ‘दम’ छैन।
३०-५५ लागू भए परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई अवकाशमा जान्छन्। राईको ठाउँमा उनीभन्दा एक हप्तापछि सहसचिव भएका कृष्णप्रसाद ढकाल सचिव बन्ने देखिन्छ। ढकाल सहसचिव भएकै १३ वर्ष (२०६९ चैत) पूरा हुन लागेको छ। कृषि/वनतिरका सचिव राजेन्द्रप्रसाद मिश्र घर गएपछि सवनव शिवाकोटी (अर्याल) र सञ्जीवकुमार राईमध्ये एकजना सचिवमा बढुवा हुने देखिन्छ। शिवाकोटी र राई सहसचिव भएकै १२ वर्ष पूरा हुन लागेको हो।
प्राविधिक सचिवमा गणेशप्रसाद भट्ट, भिमार्जुन अधिकारी, रमाकान्त दुवाडीहरू सचिव बन्ने सूचीमा छन्। भट्ट सहसचिव भएको १२ वर्ष, अधिकारी र दुवाडीको ११ वर्ष पूरा हुन लागेको छ। ११-१२ वर्ष सहसचिव भएका सचिव आउने ठाउँमा कस्तो अनुभवको कुरा गरेको हो बुझ्न सकिएको छैन।
त्यस्तै कानुनतिरका सचिव पुष्कर सापकोटासँगै सहसचिव भएका यज्ञप्रसाद भट्टराई सचिव बढुवाको लाइनमा छन्। उनी सहसचिव भएको १० वर्ष पूरा हुन लागेको छ।
प्रशासन सेवामा हेर्दा ३०-५५ लागू भए २०७२ फागुनका सहसचिव अणप्रसाद न्यौपाने, २०७३ बैशाखका सहसचिव इश्वरराज पौडेल, बलराम रिज्याल, सुमन दाहाल, खोमराज कोइराला, धनिराम शर्मा, नवराज ढकाल, गोविन्दप्रसाद रिजाल, उदयबहादुर राना मगर, निता पोखरेल अर्याल सचिव हुने सूचीमा छन्। उनीहरू सहसचिव भएकै साढे १० वर्ष पूरा भइसकेको छ।
त्यस्तै २०७४ बैशाखका सहसचिव महेश आचार्य, गिताकुमारी होमेगाई, रितेशकुमार शाक्य, राजेश्वर ज्ञवाली, श्यामप्रसाद भण्डारी, तारानाथ अधिकारी, प्रकाश दाहाल, नारायाणप्रसाद रेग्मी, ध्रुव घिमिरे, मनमाया पंगेनी भट्टराई सचिव हुने लाइनमा छन्। उनीहरूले पनि साढे ९ वर्ष सहसचिवको अनुभव लिइसकेका हुन्।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस