राप्ती प्रतिष्ठानमा खरिदको पुरानो शैली बदलिँदै : सोझै खरिदमा पनि प्रतिस्पर्धा अनिवार्य
घोराही । सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता र प्रतिस्पर्धालाई लिएर उठ्ने गरेका प्रश्नबीच राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले खरिद प्रणाली सुधारको सुरुवात गरेको छ। अब प्रतिष्ठानले सोझै खरिद गर्नुपर्ने अवस्थामा समेत सार्वजनिक सूचना जारी गरी प्रतिस्पर्धाका आधारमा खरिद प्रक्रिया अघि बढाउने भएको छ।
प्रतिष्ठानले २०८३ मंसिर १ गते जारी गरेको सूचना तथा सर्कुलरमार्फत यस्तो व्यवस्था लागू गर्ने निर्णय गरेको हो। सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ को व्यवस्थालाई आधार बनाउँदै प्रतिष्ठानले खरिद प्रक्रियालाई थप पारदर्शी, प्रतिस्पर्धात्मक र जवाफदेही बनाउने जनाएको छ।
नयाँ व्यवस्थाअनुसार एक लाख रुपैयाँभन्दा बढी मूल्यका मालसामान, परामर्श सेवा वा अन्य सेवा सोझै खरिद गर्नुपर्ने अवस्थामा समेत प्रतिष्ठानको वेबसाइटमार्फत सार्वजनिक सूचना प्रकाशन गरिनेछ। त्यसपछि इच्छुक आपूर्तिकर्ता तथा सेवा प्रदायकबाट शिलबन्दी दरभाउपत्र वा प्रस्ताव माग गरी प्राप्त प्रस्तावका आधारमा खरिद प्रक्रिया अघि बढाइनेछ।
यसअघि सोझै खरिद गर्नुपर्ने अवस्थामा सीमित प्रक्रियाबाट खरिद हुन सक्ने अभ्यासलाई प्रतिस्पर्धात्मक बनाउने यो निर्णयलाई प्रतिष्ठानको खरिद प्रणाली सुधारतर्फको महत्वपूर्ण सुरुवातका रूपमा हेरिएको छ।
त्यस्तै, प्रतिष्ठानका सबै विभाग तथा शाखालाई खरिद माग फाराम पठाउँदा आवश्यक सामग्री वा सेवाको स्पष्ट स्पेसिफिकेसन अनिवार्य रूपमा खुलाउन निर्देशन दिइएको छ। यसले आवश्यकताभन्दा फरक सामग्री खरिद हुने, गुणस्तरमा सम्झौता हुने तथा खरिद प्रक्रियामा अस्पष्टता रहने सम्भावना घटाउने अपेक्षा गरिएको छ।
खरिदमा प्रतिस्पर्धा बढाउने, गुणस्तरीय सामग्री तथा सेवा प्राप्त गर्ने र सार्वजनिक रकमको सदुपयोग सुनिश्चित गर्ने उद्देश्यले यो निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालद्वारा हस्ताक्षरित सूचनाले खरिद सुधारको नयाँ अभ्यास सुरु गरे पनि यसको वास्तविक प्रभाव भने कार्यान्वयनमा देखिनेछ। सूचना जारी गर्नु मात्रै पर्याप्त हुँदैन, अब प्रतिष्ठानले हरेक खरिदमा कति निष्पक्ष प्रतिस्पर्धा गराउँछ र त्यसको नतिजा कति पारदर्शी बनाउँछ भन्ने कुरा महत्वपूर्ण हुनेछ।
क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस