प्रधानमन्त्रीको दुईदिने राजकीय भारत भ्रमण स्वीकृत


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारत भ्रमण स्वीकृत भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको दुईदिने राजकीय भारत भ्रमण स्वीकृत गरेको हो। बैठकले मंसिर ६ र ७ गते हुने प्रधानमन्त्रीको राजकीय भारत भ्रमण स्वीकृत गर्दै भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमल्सिनाले जानकारी दिए।

चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि प्राप्त हुने २० लाख अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषबाट र्‍यापिड क्रेडिट फेसिलिटीअन्तर्गत प्राप्त हुने करिब १० करोड ७० लाख अमेरिकी डलर बराबरको निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय बैठकले गरेको मन्त्री तिमल्सिनाले बताए। सरकारले नेपालभर नापजाँच हुन बाँकी सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्न आदेश जारी गर्ने निर्णय गरेको उनको भनाइ छ।

राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना २०२६–२०३०, ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी मापदण्ड २०८३ तथा राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ स्वीकृत गरेको सञ्चारमन्त्री तिमल्सिनाले जानकारी दिए।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ