प्रदेश सचिवमा नगएका स्वास्थ्यका ‘सिनियर’ सहसचिव कृष्ण पौडेल


काठमाडौं। स्वास्थ्य सेवाको एघारौं तह (सहसचिव) डा. कृष्णप्रसाद पौडेल सबैभन्दा सिनियर हुन्। उनीसँगै एघारौं तहमा आएकी संगिता कौशल मिश्र अतिरिक्त सचिव भएर पनि घर जाने बेला भइसकेको छ। पौडेल भने दुर्गम नदेखेका कारण बढुवा हुन नसकेका हुन्।

लामो समयसम्म स्वास्थ्य मन्त्रालयमा राज गरेका पौडेल स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशक हुँदा काण्ड मच्चिएपछि सप्तरीको राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालमा सरुवा गरिएको थियो। तर, छोटो समयमै उनलाई स्वास्थ्य मन्त्री निशा मेहताको स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक बनाएर ल्याइन्। मन्त्री मेहताको उक्त निर्णय निकै चर्चा र आलोचनाको केन्द्रमा छ। प्रदेश सचिवमा नपठाइ पौडेललाई स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक बनाउने विषय आलोचनाको केन्द्रमा रहेको हो।

पौडेलभन्दा पछाडिका एघारौं तह बासुदेव जनार्दन प्रसाद उपाध्याय लुम्बिनी प्रदेशको सचिव भएर केन्द्रमा आएका हुन्। विनोद विन्दु शर्मा, सञ्जय कुमार ठाकुर, सुधा देवकोटा, प्रविण श्रेष्ठलगायतले प्रदेश सचिवको जिम्मेवारी लिइसकेका छन्।

कान्ति बाल अस्पतालमा दरबन्दी भएका पौडेल मन्त्रालयतिर लामो समय बिताए। आफूभन्दा जुनियर प्रदेश सचिवको अनुभव लिएर आउदा पनि उनी जानु परेको छैन।

गण्डकी प्रदेशका स्वास्थ्य सचिव युवानिधि बसौलामाथि प्रदेश सरकार र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। उनी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएका छन्। संघीय सरकारले गण्डकीको स्वास्थ्य सचिव भएर अनुभव लिने अवसर पौडेल दिन उचित हुन्छ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ