बैतडीको पुर्चौडी नगरपालिकामा ३ महिनामा ३ प्रमुख प्रशासकीय अधिकृत


काठमाडौं। बैतडीको पुर्चौडी नगरपालिकामा ३ महिनामा ३ प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन्। पुर्चौडीमा महिनाबीचमा सरोजकुमार पोख्रेल, मोहनराज जोशी र गुरूदत्त सुवेदी प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा देखा परेका हुन्।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुर्चौडी नगरपालिकाका गुरूदत्त सुवेदीलाई प्रमुख प्रशासकीय अधिकृतहरूको सरूवा गरेको छ। दसैं अगाडि मात्र पुर्चौडीको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका मोहनराज जोशीलाई दाङको लमही सरूवा गरेर पुर्चौडीमा सुवेदीलाई पठाइएको हो। सुवेदी युवा, श्रम तथा रोजगार मन्त्रालयको उपसचिवबाट पुर्चौडीको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएका हुन्।

जोशीभन्दा अगाडि पुर्चौडीको प्रमुख प्रशासकीय अधिकृत रहेका सरोजकुमार पोख्रेल एकहप्ता पनि त्यहाँ बसेनन्। काठमाडौंमै बसेर नगरपालिका चलाएका पोख्रेलले रक्षा मन्त्रालयमा सरूवा मिलाएपछि जोशीको उक्त ठाउँमा सरूवा भएको थियो। जोशीको पनि सरूवा भएर सुवेदीलाई प्रमुख प्रशासकीय अधिकृतमा पठाइएको छ। बैतडीको पुर्चौडी नगरपालिकामा ३ महिनामा ३ प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन्।

त्यस्तै हालतमा उदयपुरको त्रियुगा नगरपालिका पुगेको छ। कुमार कोइराला साउन ११ गते त्रियुगा नगरपालिकाबाट बिदा भएका थिए। असोज १२ गते हाजिर हुन पुगेका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीदत्त पनेरू २१ गते निमित्त दिएर काठमाडौं हिँडेका थिए। त्यसपछि नफर्किएका पनेरूले यतैबाट सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरूवा मिलाउन सफल भएका छन्। यातायात व्यवस्था विभाग, अध्यागमन जस्ता ठाउँमा बसेका पनेरू स्थानीय तहमा झुल्किएर सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरूवा मिलाएका हुन्। त्रियुगामा उद्योग मन्त्रालयबाट तारानाथ लुईंटेल प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ