प्रधानमन्त्रीका विशेष सुरक्षा सल्लाहकार कार्कीलाई आईजीपीमा पुनर्बहाली गर्न सर्वोच्चद्वारा अस्वीकार
काठमाडौं। प्रधानमन्त्रीका विशेष सुरक्षा सल्लाहकार दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा पुनर्बहाली गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। सर्वोच्चका न्यायाधीश नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। सर्वोच्चले अन्तरिम आदेश नदिएपछि प्रधानमन्त्रीका विशेष सुरक्षा सल्लाहकार तत्काल कार्की तत्कालीन आईजीपीमा पुनर्बहाली हुने अवस्था नरहेको हो।
बुधबार सर्वोच्चले कार्कीको रिटमा कानुनी प्रश्नको निरूपण अन्तिम सुनुवाइका क्रममा हुने भन्दै मुद्दालाई अग्राधिकारसहित छिटो टुंग्याउन आदेश दिएको छ। अन्तरिम आदेश नदिएपछि उक्त मुद्दाले तत्काल कुनै प्रभाव पार्ने सम्भावना देखिँदैन।
सरकारले कार्तिक १८ गते कार्कीलाई प्रधानमन्त्रीको विशेष सल्लाहकारमा नियुक्त गरेर डा. मनोजकुमार केसी आईजीपी बनाएपछि उनी आईजीपीमा पुनर्बहालीको गर्न रिट लिएर सर्वोच्च अदालत पुगेका थिए। तर सर्वोच्चले कार्कीलाई रातो झण्डा देखाइदिएको छ।
मुद्दालाई लामो समयसम्म विचाराधीन नराख्न सर्वोच्चले अग्राधिकार दिएको छ। विपक्षीहरूबाट लिखित जवाफ प्राप्त भएपछि वा त्यसका लागि तोकिएको म्याद सकिएपछि सात दिनभित्र पेसीमा चढाउन आदेश दिइएको छ। साथै, पेसी स्थगित नहुने गरी दुवै पक्षलाई पूर्वजानकारी दिनसमेत भनिएको छ। सर्वाेच्चले रिट टुंगो लगाउदा उक्त विषयमा बोल्ने देखिन्छ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस