त्रियुगामा ४ महिना नपुग्दै ३ प्रमुख प्रशासकीय अधिकृत फेरिए
गाईघाट। उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा ४ महिना नबित्दै ३ प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन्। यो अवधिमा कुमार कोइराला, ईश्वरी दत्त पनेरू र तारानाथ लुईंटेल प्रमुख प्रशासकीय अधिकृत भएका हुन्। छोटो समयमै प्रमुख प्रशासकीय अधिकृत फेरिदा समस्या परिरहेको जनप्रतिनिधिहरू बताउँछन्।
त्रियुगाबाट कुमार कोइराला साउन ११ गते सरूवा भएर गएका थिए। त्यसपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ईश्वरी दत्त पनेरूलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठायो। सरूवा भएको झन्डै दुई महिनापछि असोज १२ गते पनेरू त्रियुगामा हाजिर भए। उनी ९ दिन गाईघाट बसेर काठमाडौं फर्किए। त्यसको दुई महिनापछि सामान्य प्रशासन मन्त्रालयले उद्योगबाट तारानाथ लुईंटेललाई प्रमुख प्रशासकीय अधिकृतमा सरूवा गरेर पठाएको हो।
यातायात र अध्यागमन बसेर रजगज गरेका पनेरू त्रियुगामा एक हप्ता बढी बसेर फेरि तुरून्तै संघमा फर्किन सफल भएका छन्। उनी त्रियुगाबाट केशरमहलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरूवा भएका हुन्। पनेरूको सरूवाले मन्त्रालयको भूमिका र नियतिमाथि प्रश्न उठेको छ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस