सम्पत्ति शुद्धीकरणको डिजीमा इन्द्रदेव, पार्वती एयरपोर्ट भन्सार, नीता मलेनिका
काठमाडौं। अर्थ मन्त्रालयले ३ सहसचिवको जिम्मेवारी तोकेको छ। अर्थ मन्त्रालयले इन्द्रदेव यादवलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक (डिजी) बनाएको छ। निर्मल ढकालको वीरगञ्ज महानगरपालिकामा सरूवा भएपछि उक्त विभागमा डिजी रिक्त थियो। रिक्त सम्पत्ति शुद्धीकरणको डिजीमा महोत्तरीको सिडिओबाट आएका इन्द्रदेव यादवलाई पठाइएको हो।
त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुखमा पार्वती अर्याललाई पठाइएको छ। चीनको बेइजिङस्थित नेपाली राजदूतावासको इकोनोमिक मिनिस्टरको दरबन्दी कटौतीमा परेपछि उनी फिर्ता आएकी थिइन्। सरकारले पार्वतीलाई प्रदेश नपठाइ अर्थमा पठाएको थियो। अर्थले उनलाई एयरपोर्ट भन्सारको प्रमुख बनाएको हो।
त्यसैगरी महालेखा नियन्त्रक कार्यालयमा सहसचिव निता शर्मालाई खटाइएको छ। कोशी प्रदेशबाट सरूवा भएकी नीतालाई महालेखा नियन्त्रक कार्यालय (मलेनिका)मा पठाइएको हो। अर्थ पठाइएका सहसचिवद्वय तारानाथ अधिकारी र टेकबहादुर वलीलाई भने तत्काल कुनै जिम्मेवारी तोकिएको पाइँदैन।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस