अरुण गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने


प्याउली। भोजपुरको अरुण गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भएको छ। गाउँपालिकाको कार्यालय प्याउलीमा सम्पन्न सरोकारवालाहरूसँगको छलफल कार्यक्रमले आगामी फागुन १ गतेदेखि उक्त वर्गका नागरिकहरूको स्वास्थ्य बीमा अनिवार्य रूपमा लागू हुन गरी कार्य सम्पन्न गर्ने निर्णय गरेको हो।

अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीको अध्यक्षतामा सम्पन्न उक्त छलफल कार्यक्रममा उपाध्यक्ष विनिता ढकाल, प्रमुख प्रशासकीय अधिकृत जितमान जिमी, वडाध्यक्षज्यूहरु, स्वास्थ्य संयोजक तथा गाउँपालिकाका विभिन्न वडाका स्वास्थ्य बीमा दर्ता सहयोगी (बीमाकर्ता) हरू तथा सरोकारवालाहरुको सक्रिय सहभागिता रहेको थियो।

छलफलका क्रममा अध्यक्ष श्री शालिकराम खत्रीज्यूले अपाङ्गता भएका नागरिकहरूलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन गाउँपालिकाले विशेष प्राथमिकता दिएको बताउँदै तोकिएको समयभित्रै कागजात संकलन र दर्ता प्रक्रियालाई सहजीकरण गर्न स्वास्थ्य शाखा र बीमा दर्ता सहयोगीहरूलाई निर्देशन दिए। ‘क’ वर्गका अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यले निःशुल्क बीमाको व्यवस्था गरे तापनि ‘ग’ र ‘घ’ वर्गका व्यक्तिहरूलाई समेत स्वास्थ्य सुरक्षाको दायरामा समेट्न पालिकाले यो कदम चालेको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ