जेष्ठताका आधारमा प्रशासन सेवामा ५ सहसचिव बढुवा सिफारिस
काठमाडौं। जेष्ठताका आधारमा प्रशासन सेवामा ५ सहसचिव बढुवा सिफारिस भएका छन्। त्यसरी बढुवा सिफारिस हुनेमा मोहनशरण भण्डारी, तीर्थ प्रकाश पौडेल, रामेश्वर पोखरेल, कमलबहादुर थापा र पुष्पराज कटुवाल रहेका छन्। भण्डारी लेखा समूहका उपसचिव तथा पौडेल, पोखरेल, थापा र कटुवाल सामान्य प्रशासन समूहका उपसचिव हुन्। एकैदिन उपसचिव भएका पौडेल, पोखरेल, थापा र कटुवाल एकैदिन सहसचिवमा सिफारिस भएका छन्।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेको बढुवा समितिको सचिवालयले जेष्ठता तथा कार्यसम्पादन मूल्यांकनद्वारा नेपाल प्रशासन सेवाको सहसचिवमा हुने बढुवाका लागि मोहनशरण भण्डारी, तीर्थ प्रकाश पौडेल, रामेश्वर पोखरेल, कमलबहादुर थापा र पुष्पराज कटुवालको नाम सिफारिस भएको जनाएको छ। ११ गते बसेको बढुवा समितिको बैठक जेष्ठता तथा कार्यसम्पादन मूल्यांकनद्वारा नेपाल प्रशासन सेवाको सहसचिवमा हुने बढुवाका लागि उनीहरूको नाम सिफारिस गरेको हो।
भण्डारी राजस्व न्यायाधिकरण, पौडेल दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका खोटाङका प्रमुख प्रशासकीय अधिकृत, पोखरेल रक्षा मन्त्रालय, थापा भूमि प्रशासन कार्यालय धनकुटा र कटुवाल सल्यानको कुपिन्डे नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा कार्यरत छन्। भण्डारी र पोखरेल ५५ पारीका उपसचिव हुन्।

त्यस्तै नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, जनरल उपसमूहको सहसचिवमा मोहनदत्त भट्ट र हाइवे उपसमूहको सहसचिवमा सुजन अधिकारी, रामकुमार देव र सन्तोष कुमार कर्ण सहसचिव बढुवाका लागि सिफारिस भएका छन्। उनीहरू पनि जेष्ठता तथा कार्यसम्पादन मूल्यांकनद्वारा प्राविधिक सहसचिवमा बढुवाका लागि सिफारिस भएका हुन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस