झलनाथको नाममा अपोलो हस्पिटललाई ७५ लाख बुझाइयो, आचार्य र पाण्डे दिल्लीमा
 
	
                                            काठमाडौं, पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाममा भारतको नयाँदिल्लीस्थित अपोलो हस्पिटलमा राज्यकोषबाट ७५ लाख भुक्तानी भएको पाइएको छ । अर्थमन्त्रालय उच्च स्रोतकाअनुसार केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा २५ लाख र शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा पूर्वप्रधानमन्त्री खनालको नाममा ५० लाखगरी जम्मा ७५ लाख रुपैयाँ अपोलो हस्पिटललाई बुझाईएको हो । अझै २५ लाख रुपैयाँ पठाउन भनिएको मन्त्रालय स्रोतको दाबी छ ।
ओली नेतृत्वको निवर्तमान सरकारले पूर्वप्रधानमन्त्री खनालको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको थियो । जुन निर्णय आफैमा गैरकानुनी हो । जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ३० मा सरकारलाई वैदेशिक उपचारमा जाने व्यक्तिको उपचार खर्च उपलब्ध गराउन बन्देज लगाएको छ । देउवा सरकारले पनि त्यहिँ गैरकानुनी निर्णयलाई सदर गरेको छ ।
मिर्गौला प्रत्यारोपण गराएका पूर्वप्रधानमन्त्री खनाल भारतको नयाँदिल्लीस्थित अपोलो हस्पिटलमा आराम गरिरहेका छन् । मिर्गौला प्रत्यारोपण गरुञ्जेलसम्म नयाँदिल्लीमा रहेको विवादास्पद पूर्वअर्थराज्यमन्त्री ल्यारक्याल लामा नेपाल फर्किसकेका छन् । मिर्गौला दिने दाता लामाले नै व्यवस्थापन गरेको विश्वस्त स्रोतको दाबी छ । नयाँदिल्लीस्थित नेपाली दूतावासदेखि अपोलो हस्पिटलमा प्रत्यारोपणका लागि कागजात मिलाउने काम लामाले नै गरेका थिए । सबै व्यवस्थापन पूर्वराज्यमन्त्री लामाले नै गरेका दाता व्यवस्थापनको काम पनि लामाले गरेको कुरामा बलियो आधार देखिन्छ ।
यता फलोअपमा आउने समयसम्म किड्नी दिनेलाईसमेत अस्पतालमा राख्ने स्रोतको भनाई छ । फाइभ स्टारको सुविधा भएको ठाउँमा सबै खर्च राज्यले ब्यहोर्ने भएपछि दाता पनि डिस्चार्ज हुन तयार देखिएका छैनन् । खनाल परिवारले पनि डिस्चार्य गराउन खोजेको छैन ।
अपोलो अस्पतालले बाच्छो नभएको दुहुनु गाई भेट्टाएकाले लामोसमय हस्पिटलमै बस्नुपर्छ भन्ने गरेको परराष्ट्र मन्त्रालयमा टिप्पणी हुन् थालेको छ । पहिला २५ लाख र अहिले थप ५० लाखगरी ७५ लाख भुक्तानी भएको बताउँदै मन्त्रालयका अधिकारीहरु भन्छन् ‘ईन्फेक्सनको वाहनामा अस्पतालमानै स्विटरूममा वसिरहने क्या काईदा !’,
अहिले पूर्वप्रधानमन्त्री खनालसँगै छोरा निर्भिक चित्रकार खनाल पनि नयाँदिल्लीमै रहेका छन् ।
यसैबीचमा एमालेका नेता सुरेन्द्र पाण्डे र भीम आचार्य सुटुक्क दिल्ली पुगेका छन् । विवादास्पद व्यापरी लामा फर्किएसँगै पाण्डे र आचार्य खनाललाई भेट्न दिल्ली पुगेका हुन् ।
आचार्य र पाण्डेलाई दूतावासका कर्मचारी रिसिभ गर्न एयरपोर्ट गएको थियो । उनीहरूलाई नियोगको भिआपी अतिथी गृहमा राखिएको छ । नेताद्वयको चाकडीमा पूर्व स्वास्थ्य सचिव लक्ष्मण अर्याल लागेका छन् । आफू माधव-झलनाथ निकट भएकाले ओलीले अर्थ सचिव नबनाएको भन्दै देउवालाई भनेर राम्रो मन्त्रालय दिलाइदिन उनको आग्रह छ । आफूलाई स्वास्थ्यमा लगेर शिशिकुमार ढुंगानालाई अर्थमा लानुको पछाडि आफू माधव- झलनाथ निकट भएको सचिव अर्यालको दाबी छ । दिल्लीस्थित नियोगमा इकोनोमिक मिनिस्टर रहेकी श्रीमती निता अर्याल पोखरेललाई फिर्ता बोलाउने षडयन्त्र भइरहेको भन्दै उनले माधव-शेरबहादुरलाई भनेर जागिर थमौती गराईदिन नेताद्वयलाई बिन्ती बिसाएका छन् ।
			
		
		  	
		
		क्याटेगोरी : 
			अन्तर्राष्ट्रिय, 
	मेडिकल शिक्षा, 
	समाचार		
		
 
                            
                             
				 
				 
				 
				 
				 
				 
				
 
             
             
             
             
             
            
तपाईको प्रतिक्रिया दिनुहोस