यी हुन् एनएमए पहिलो समिटबाट घोषणा भएका ११ बुँदा


काठमाडौं । नेपाल चिकित्सक संघले आफ्नो इतिहास कालमा पहिलो पटक राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलन गरेको छ । उक्त सम्मेलनले ११ बुँदे घोषणपत्र समेत जारी गरेको छ । राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनबाट जारी भएको घोषणा पत्र हरेक तीन तीन महिनामा फलोअप गर्दै कार्यान्वयनको चरणमा लैजाने संघले जनाएको छ । कोभिड–१९ को तयारी र प्रतिकार्यका विषयमा केन्द्रित रहेको सम्मेलनले अझै कोभिड १९ को जोखिम कायमै रहेको हुदा सरकार र गैह्र सरकारी क्षेत्र गम्भीर हुनुपर्ने उल्लेख गरेको छ ।

यस्ता छन् ११ बुँदा
नेपालमा कोभिड–१९ को जोखिम कायमै छ । यसको असर स्वास्थ्य र गैरस्वास्थ्य क्षेत्रमा गम्भीर रूपमा परिरहेको छ । यसले ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती र अग्रमोर्चामा रहेर कार्य गरिरहेकाहरूमा विशेष असर पारेको छ भन्ने नेपाल चिकित्सक संघको निष्कर्ष छ ।

कोभिड–१९ को महामारीका कारण ज्यान गुमाउन बाध्य भएका सम्पूर्णमा हामी हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छौँ । साथै, यस विषम परिस्थितिमा आफू र आफ्नो ज्यान जोखिममा राखेर अहोरात्र महामारीको रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने सम्पूर्ण स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत यस कार्यमा महत्त्वपूर्ण योगदान दिनुहुने सम्पूर्णमा हार्दिक कृतज्ञता व्यक्त गर्दर्छौं ।

स्वास्थ्य क्षेत्रमा जनशक्ति सबल, सक्षम र चुस्त स्वास्थ्य प्रणालीको मेरुदण्ड भएकाले, यसको व्यवस्थापन र वृत्तिविकासका लागि स्वास्थ्य सेवा ऐनलाई परिमार्जन गर्दै चिकित्सक ऐनको पनि विकास गर्नुपर्दछ ।

महामारीलगायत अन्य जनस्वास्थ्य विपत्को स्थितिको पूर्वतयारी र प्रतिकार्यका लागि सबल र सक्षम जनशक्तिको आवश्यक हुन्छ । स्वास्थ्य क्षेत्रमा जनशक्तिको यथोचित प्रक्षेपण, वृत्तिविकास, सुविधा र सुरक्षाको व्यवस्था हुनु पनि उत्तिकै जरुरी छ ।

कोभिड–१९ महामारी र भविष्यमा आउन सक्ने यस्तै प्रकारका अन्य महामारीलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि बहुपक्ष्ीाय सहकार्य अपरिहार्य छ । तसर्थ हामीले वर्तमान अवस्थालाई पार लगाउन र भविष्यमा आइपर्ने महामारीमा स्वतः परिचालन हुनेगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकै नेतृत्वमा बहुपक्षीय संयन्त्रको निर्माण हुनुपर्छ । महामारी प्रक्षेपण तथा निगरानीको निकाय बनाउन जरुरी छ । स्वास्थ्य प्रणाली तथा समग्र स्वास्थ्य क्षेत्रलाई नै मजबुत बनाउन आजकै दिनबाट नेपाल चिकित्सक संघले अझ बढी संवेदनशील र जागरुक भई अन्य सहयोगी संस्था, व्यक्ति र सरकारलाई साथमा लिएर नेतृत्वदायी भूमिका निर्वाह गर्ने छ ।

कोभिड–१९ जस्तो विश्वमहामारीको समयमा आफ्नो क्षमता विकास नभएका कारणले गर्दा नै सामान्यभन्दा सामान्य चिकित्सकीय वस्तु तथा सामग्रीको प्राप्तिका लागि नेपालले कति सङ्घर्ष गर्नुपरेको छ भन्ने हामी सबैलाई थाहा भएकै विषय हो । तसर्थ, भविष्यमा आइपर्ने अन्य महामारीको तयारी गर्दा हामीलाई आवश्यक पर्ने सामग्रीमा आत्मनिर्भर हुने अवस्था सिर्जना हुनुपर्छ भन्ने नेपाल चिकित्सक संघको ठहर छ । त्यसैले स्वास्थ्यसँग सम्बन्धित सामग्रीहरूको स्वदेशमै उत्पादन गर्नका लागि सङ्घको तर्फबाट आवश्यक प्राविधिक तथा नीतिगत सहयोग गर्नुपर्छ भन्ने हाम्रो बुझाइ छ ।

महामारीको समयमा सम्पूर्ण नागरिकलाई न्यायोचित रूपमा निःशुल्क खोप उपलब्ध गराउनु सरकारको जिम्मेवारी हो । यसका साथै अन्य देशले सहयोग गरेको र खरिद गरिएको खोपको उचित भण्डारण र समतामूलक पहुँचको सुनिश्चितता गरिनुपर्छ । साथै सरकारले नेपालमा नै खोप उत्पादन गर्न सक्ने विषयमा सम्भाव्यता अध्ययनलगायत थप पहल गर्नुपर्ने देखिन्छ ।

भविष्यमा खोप वा अन्य औषधिको आपत्कालीन प्रयोगका लागि आवश्यक पर्ने कानुनको निर्माण आजकै दिनबाट सुरु गर्नुपर्छ भन्ने पनि हाम्रो ठहर छ । ताकि भोलिका दिनमा कुनै पनि कानुन महामारीविरुद्ध लड्नका लागि बाधक नहोऊन् बरु सहयोगी बनून् । तसर्थ यस अवस्थामा सुधार गर्नुपर्ने धेरै कार्यमा हामी सहयोगी भूमिका निर्वाह गर्ने छौं ।

संघीय संरचनामा स्वास्थ्य प्रणालीलाई सुदृढ गर्दै जनताको स्वास्थ्य आवश्यकतालाई सम्बोधन गर्न तीनै तहका सरकारबिच पर्याप्त समन्वय र सहकार्यलाई अझै बलियो बनाउँदै अघि लानु पर्ने हाम्रो ठहर छ । यसका लागि कुशल नेतृत्वको विकासलगायत हरेक तहका सरकारको भूमिकाको स्पष्टता र यसका लागि चाहिने स्रोत र साधनको सुनिश्चितता गरिनु पर्दछ ।

नेपालको स्वास्थ्य प्रणालीलाई सुदृढ र सबल बनाउनका लागि अन्वेषण र आविष्कारलाई हामी सबै मिलेर प्रवर्धन गर्नुपर्दछ ।

महामारीमा सुचना प्रणालीलाई अझ वैज्ञानिक र प्रभावकारी बनाउँदै तथ्य र प्रमाणमा आधारित नीतिको विकास गरिनुपर्दछ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com