स्वास्थ्य लाइभ प्रभाव: सेभ द चिल्ड्रेनका एकजना कर्मचारी बर्खास्त 


काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)मा कार्यरत एकजना कर्मचारी बर्खास्त भएका छन् ।

स्वास्थ्य लाइभले गत साउन १५ मा ‘इडिसिडीमा सेभ द चिल्ड्रेनका कर्मचारीबीच कुटाकूट’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा सेभ द चिल्ड्रेनका कर्मचारीबीच कुटाकूटा भएको तथ्य स्वास्थ्य लाइभले बाहिर ल्याइदिएपछि सेभले उच्चस्तरीय छानबिन समिति बनाएको थियो। समितिले कर्मचारीबीच कुटाकूट भएको तथ्य पुष्टी गरेपछि इडिसीडीमा कार्यरत सेभ द चिल्ड्रेनका लेखा प्रमुख दीपक आचार्यलाई सेभबाट हटाएको छ । आचार्यले हात हालेको ठहर गर्दै सेभ द चिल्ड्रेनले सेवाबाट हटाएको सेभ द चिल्ड्रेन उच्च स्रोतले स्वास्थ्य लाइभलाई जानकारी दियो ।

सेभ द चिल्ड्रेनका प्रतिनिधि राजन भट्टराईलाई आचार्यलाई हटाएको विषयमा बुझ्न खोज्दा मिटिङमा छु भन्दै पन्छिए ।

सरकारी कार्यालयमा कार्यालय समयभित्र आईएनजीओका कर्मचारीबीच हानाहान भएको घटनालाई इडिसीडीका केही अधिकारीहरुले नै गोप्य राख्ने प्रयास गरेका थिए। तर, कुटाकूटको उक्त घटना स्वास्थ्य लाइभले सार्वजनिक गरिदिएपछि सेभले छानविन गरेर दोषीलाई कारबाही गर्न बाध्य भयो ।

आईएनजीओका कर्मचारीले सरकारी कार्यालयभित्र बसेर झगडा गर्नु गम्भीर विषय भएको भन्दै त्यस्तो कार्यका संलग्नमाथि कारबाही गर्न आवश्यक थियो ।

सेभ द चिल्ड्रनले इडीसीडीको ५ वटा कोठा कब्जा गरेर मनलाग्दी गर्दै आएको इडीसीडीका एक उच्च अधिकारीले स्वास्थ्य लाइभलाई बताए । ‘ इडीसीडीका ५  वटा कोठा कब्जा गरेर सेभ द चिल्ड्रेनका १३ जना कर्मचारी बस्दै आएका छन् । तिनीहरुको कुनै काम छैन । फेसबुक चलाउने, गफ गर्ने, सरकारी काममा अवरोध खडा गर्ने र हस्तक्षेप गर्ने गरेका छन् । कार्यकक्षभित्रै झगडा गरेर सरकारी कार्यालयको गरिमा र मर्यादा तोड्दा पनि सेभ द चिल्ड्रेनलाई इडिसिडीबाट हटाउन नसक्नुले सरकार कमजोर भएको भान हुन्छ ।

इडिसिडीमा सरकारी कर्मचारीमाथि आईएनजीओका कर्मचारी हाबी छन् । यो घटनाले सरकारी कार्यालयमा एनजीओ/ आईएनजीओको कुन हदसम्मको दबदबा रहेको छ भन्ने कुरा प्रष्ट हुन्छ ।

क्याटेगोरी : समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com