स्वास्थ्यमन्त्री ताक्ने को हुन् प्रधानन्यायाधीशका मान्छे?


काठमाडौं । सूचना प्रविधि (आइटी) र मेडिकल उपकरणमा खरिदमा जोडिएका दीपक तिमल्सेनालाई स्वास्थ्यमन्त्री बनाउने प्रस्ताव आएको खुलासा भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा निकट उच्च स्रोतकाअनुसार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको कोटाबाट सर्वोच्च अदालतमा आइटी र स्वास्थ्यको उपकरण खरिद मुद्दामा सेटिङ मिलाउने तिमल्सेनालाई मन्त्री बनाउने प्रस्ताव आएको हो ।

केपी ओलीलाई ‘बा’ भन्ने र दसैंमा टीका थाप्न जाने उनलाई राज्यको उपल्लो निकायका व्यक्तिबीच सूचना आदान प्रदान गर्ने ‘म्यासेन्जर’का रूपमासमेत हेर्ने गरिन्छ ।

आइटी माफियाका रुपमा परिचित (हाल सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक) विकल पौडेलसँग मिलेर सर्वोच्च अदालतमा आइटी सिस्टम भित्र्याउन भूमिका खेलेका तिमल्सेनाले स्वास्थ्य मन्त्रालयमा आँखा लगाएको बुझिएको छ । नेपालको आइटी सिस्टम खरिदको घोटालामा पौडेल मुख्य डिजाइनर हुन् । अदालत मिलाउने काम भने तिमल्सिनाले गर्दै आएको आरोप लाग्ने गरेको छ । स्वास्थ्यमा मेडिकल उपकरण खरिदको ठेक्का हत्याउन सफल ठेकेदार विशाल पण्डितसँग पनि उनको विशेष सम्बन्ध रहेको जानकारहरु बताउँछन् ।

स्वास्थ्यमा उपकरण खरिद सम्बन्धी ठूलै बजेट रहेकाले प्रधानन्यायाधीश राणा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रयोग गरेर स्वास्थ्य मन्त्री बन्न तिमल्सेनाको दौडधुप रहेको बालुवाटार स्रोतको दाबी छ ।

समावेशी आयोगका अध्यक्ष रामकृष्ण तिमल्सिन नातेदार दीपकको नेसनल ल कलेज सानेपामा पनि लगानी रहेको बुझिएको छ । सर्वोच्च अदालतको आइटी सिस्टम खरिदमा तिमल्सेनाद्वयको भूमिका रहेको चर्चा छ । सर्वोच्चको उक्त खरिद विवादमा आएपछि रामकृष्णले सर्वोच्च अदालतको रजिष्ट्रारबाट राजीनामा दिएर नेसनल ल कलेज खोलेका थिए ।


सर्वोच्च अदालतमा स्वास्थ्यको मुद्दामा चलखेल गर्ने समूहले पनि उनलाई स्वास्थ्यमै जान उक्साइरहेको स्रोतको भनाइ छ । ‘तिमल्सेनाको स्वास्थ्य र सञ्चार मन्त्रालयमध्ये एक हुनुपर्ने जोड रहेको छ । ‘एनसेल, स्मार्टलगायतका टेलिकम कम्पनीहरुमासमेत बिचौलियाको काम गरेकाले उहाँलाई त्यहाँ लान खोजिएको हुनुपर्छ ।’, बालुवाटार निकट उच्च स्रोतले भन्यो ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि विशेष सम्बन्ध रहेका तिमल्सिनालाई मन्त्री बनाउने प्रस्ताव आएपछि राजनीतिक वृत्तमा तरंग छाएको छ ।

यद्यपि प्रधानन्यायाधीश राणाले दीपकलाई मन्त्री बनाउने कुरा प्रस्ताव नगरेको दाबी गरेका छन् । उनले सर्वोच्च बारका प्रतिनिधिसँगको भेटमा मन्त्रीका लागि प्रस्ताव गरेको कुरालाई अस्वीकार गरेका हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com