डब्लुएचओ निगरानी

स्वास्थ्य सेवाबाट अवकाश पाएको ६० दिनमै महेन्द्र श्रेष्ठ डब्लुएचओकाे शरणमा 


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठ सेवा अवकाशको ६० दिन नपुग्दै विश्व स्वास्थ्य संगठन डब्लुएचओकाे शरणमा  पुगेका छन् । स्वास्थ्य लाइभले प्राप्त गरेको गोप्य सूचनाका आधारमा उनी केही दिनबाट डब्लुएचओको कन्सल्ट्यान्टका रुपमा जागिर खान गएका हुन् ।
सरकारी कर्मचारीलाई अवकाश भएको तीन वर्षसम्म कुनै संघ संस्थामा जागिर खान जान नपाउने व्यवस्था गर्नुपर्ने आवाज उठिरहेको बेलामा श्रेष्ठ प्रमुख विशेषज्ञबाट अवकाश पाएको दुई महिना नपुग्दै डब्लुएचओका जागिरे भएको तथ्य स्वास्थ्य लाइभले फेला पारेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ श्रेष्ठले गत साउन १७ गते ४१ वर्षे सेवाबाट उमेरका आधारमा अनिवार्य अवकाश पाएका हुन् । स्वास्थ्य लाइभको जिज्ञासामा उनले आफूले डब्लुएचओमा नियुक्ति पाएको ५ दिन मात्र भएको बताए । ‘डब्लुएचआमा कन्सल्ट्यान्ट थुप्रै ‘, श्रेष्ठले स्वास्थ्य लाईभसँग भने ‘मेरो नियुक्ति भनेको हेल्थ इमर्जेन्सीका लागि भएको हो ।’,

स्वास्थ्य क्षेत्रमा कब्जा जमाएको डब्लुएचओले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागभित्र हरेक जस्तो कोठामा आफ्ना कर्मचारी खटाएको छ । सूचना चुहावट गराउन डब्लुएचओले मन्त्री, सचिव र महाशाखा प्रमुखहरुलाई विभिन्न प्रलोभनमा पारेर आफूअनुकूल काम गराउँदै आएको अधिकारीहरु बताउँछन् ।

स्वास्थ्य लाइभले एनजीओ, आइएनजीओको बदमासीको विषयमा निरन्तर निगरानी बढाएको छ । स्वास्थ्य लाइभले स्वास्थ्य क्षेत्र विदेशी संस्थाको कब्जामा रहेको समाचार प्रकाशीत गर्दा महेन्द्र श्रेष्ठले त्यसमा सत्यता नभएको बताउँदै आएका थिए । तर, सेवा अवकाश भएको ६० दिन पुग्न नपाउँदै डब्लुएचओका जागिरे हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

डब्लुुएचओले स्वास्थ्य मन्त्रालय र मातहतका निकायका महत्वपूर्ण शाखा, महाशाखाको जिम्मेवारी सम्हालेका कर्मचारीलाई अवकाशपछि जागिर दिने बाचामा आवश्यक सूचना लिक गराउँदै आएको अधिकारीहरु बताउँछन् । स्वास्थ्य मन्त्रालयमा कुनै पनि महत्वपूर्ण फायल छैनन् । महत्वपूर्ण निर्णयका फायल आवश्यक परेको खण्डमा सचिव, मन्त्रीले मात्रै होइन महाशाखा प्रमुखहरुलेसमेत आइएनजिओका कर्मचारीसँग मगाउने गरेका छन् ।

स्वास्थ्य लाइभले हिजोमात्र कोभिडका नाममा डब्लुएचओद्वारा सातै प्रदेशका संयोजकमा राजनीतिक नियुक्ति, को कुन पार्टीका? शीर्षकमा समाचार प्रकाशित गरेको थियो । डब्लुएचओ, नेपालभित्र देखा परेको बेथितिको विषयमा स्वास्थ्य लाइभले निरन्तर निगरानी बढाएको छ ।

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com