एमालेमा जस्तो कांग्रेस महाधिवेशनमा स्वास्थ्यकर्मी जान नपाउने 


काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशमा जस्तो नेपाली कांग्रसले महाधिवेशनमा स्वास्थ्यकर्मी सहभागी हुन नपाउने भएका छन् ।

एमाले महाधिवेशनमा निजामती कर्मचारी अस्पताल (सिभिल) को नर्सिङ इन्चार्ज कल्पना श्रेष्ठदेखि बुढानिलकण्ठ नगरपालिकाको जनस्वास्थ्य निरीक्षक भवानी दाहालसम्म सहभागी भएका थिए । त्यस्तै शुक्रराज ट्रपिकल तथा सरूवा रोगअस्पताल, टेकुका लेखापाल लोकनाथ कोइराला पनि एमालेको हालै सम्पन्न विधान महाधिवेशनमा सहभागी भएको स्वास्थ्य लाइभले फेला पारेको थियो । नेपाली कांग्रेसको आगामी महाधिवेशनमा भने स्वास्थ्यकर्मी, कर्मचारी, शिक्षक, प्राध्यापकलगायत सहभागी हुन नपाउने भएका छन् ।

उच्च अदालत पाटनले  कर्मचारी, शिक्षक र प्राध्यापकलाई कांग्रेसको चौधौं महाधिवेशनमा सहभागी नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको हो ।  अधिवक्ता सुनिल बोहराले हालेको रिटमाथि सुनुवाई गर्दै उच्च अदालतले यो विषय रोक लगाउन छलफलका लागि बोलाएको छ ।

रिटमा कर्मचारी, शिक्षक, प्राध्यापकलगायतलाई कांग्रेस महाधिवेशनमा अधिवेशनबाट प्रतिनिधि बन्ने, बनाउने कार्यलाई रोक्न अन्तरिम आदेश माग गरिएको थियो । अदालतले विपक्षीहरूलाई  राजनीतिक कार्यहरूमा सामेल नगर्नू /नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश दिएसँगै राजनीतिक गर्ने कर्मचारी साइजमा आउने भएका छन् ।

अधिवेशनबाट छनौट भएकालाई पनि हटाउन रिट भनिएको छ । अदालतले कार्तिक ७ गते यो विषयलाई एउटा टुंगोमा पुर्‍याउने भएको छ ।

निजामती सेवा ऐन, २०४९ को दफा १२ मा निजामती कर्मचारी कुनै राजनीतिक पदाधिकारी, व्यक्तिगत, व्यवसायिक वा राजनीतिक इच्छालाई प्रबर्द्धन गर्ने  क्रियाकलापमा संलग्न हुनु हुँदैन भन्ने उल्लेख छ । सरकारी सेवामा रहेका मान्छेहरू राजनीति दलको झोला बोकेर हिड्न थालेपछि अदालतले त्यस्तो क्रियाकलाप रोक्न सक्रियता देखाएको छ ।

अदालतले कांग्रेस महाधिवेशनमा सहभागी गराउन नपाउने आदेश दिएसँगै यो नजिर अन्य दलको हकमा पनि लागू हुन्छ । यो रिट टुंगोमा पुगेसँगै एमाले महाधिवेशनमा सहभागी भएका स्वास्थ्यकर्मी एवं कर्मचारीमाथि विभागीय कारबाही गर्न बाटो खुला हुने भएको छ ।

कोभिड १९ को बिरामी अलपत्र छाडेर पार्टी क्रियाकलापमा सहभागी हुने सिभिल अस्पतालको नर्सिङ इन्चार्ज श्रेष्ठ, बुढानिलकण्ठ नगरपालिकाकी जनस्वास्थ्य निरीक्षक दाहाललगायतलाई कानुनबमोजिम कारबाही गर्न पक्रिया अगाडि बढाउनु पर्ने देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com