कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ‘अयोग्य’ पदाधिकारी अझै हटेनन्


काठमाडौं। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका ‘अयोग्य’ उपकुलपति डा. मंगल रावल र रजिष्ट्रार निपेन्द्र महत अझै हटाइएका छैनन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति रावल र रजिष्ट्रार महत कानुनबमोजिम योग्य देखिँदैनन् ।

कर्णाली प्रतिष्ठानको उपकुलपति हुनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी कम्तीमा सह-प्रध्यापक वा मन्त्रालयसम्बद्ध निकायमा कम्तीमा दशौं तह वा सोसरहको पदमा काम गरेको हुनुपर्ने योग्यता तोकिएको छ । तर, उपकुलपतिमा नियुक्त रावल सह-प्राध्यापक वा मन्त्रालय सम्बद्ध निकायमा दशौं तह वा सो सरहमा काम गरेका होइनन् ।

रावललाई तत्कालीन् प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको निर्देशनमा प्रतिष्ठानका तत्कालीन उपकुलपति प्राडा राजेन्द्रराज वाग्लेले २०७७ मंसिर २२ मा प्राज्ञिक परिषदको बैठकबाट निर्णय गरेर उपप्राध्यापकबाट सह-प्राध्यापकको रुपमा कामकाज गर्ने गरी थप जिम्मेवारी दिएका थिए ।निमित्तको हैसियतमा दिइएको काम काज गर्ने जिम्मेवारीलाई सह-प्राध्यापक बढुवा भएको अपव्याख्या गर्दै रावललाई उपकुलपति बनाइएको हो ।

नियुक्तिका बखत कानुनअनुसार योग्यता नपुगेका रावललाई उपकुलपतिबाट हटाउने बलियो आधार देखिएपनि अयोग्य उपकुलपति कर्णाली प्रतिष्ठानमा बसेर राज्यबाट अनुचित सुविधा लिइरहेका छन् ।

उपकुलपति कसरी भए डा. रावल ?

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका उपकुलपतिमा अयोग्य डा. रावलले कसरी बाजी मारे भन्ने प्रसंग एकदमै रमाइलो छ । उनका दाजु दल रावल त्यो बेला कर्णाली प्रदेशको सामाजिक विकासमन्त्री थिए। तत्कालीन नेकपा एमालेका नेता माधवकुमार नेपाल निकट रावल त्यो क्याम्प छोडेर भाइलाई उपकुलपति बनाउन ओली क्याम्प छिरे । उपकुलपति बन्न मापदण्डअनुसार सह-प्राध्यापक हुनुपर्नेमा त्यो योग्यता नपुगेपनि ओली क्याम्पमा दाजु छिरेकै कारण उनी उपकुलपति बन्न योग्य भए र कर्णाली प्रतिष्ठानको उपकुलपति बनाइए ।

यी कारण रावल उपकुलपतिमा बस्न योग्य छैनन् 

डा. रावल सह-प्राध्यापकमा बढुवा नभएकाले उपकुलपति बन्ने योग्यता पुग्दैन । लेक्चरर पदको करार सेवा अवधिसमेत जोडेर (प्रतिष्ठानको नियमावलीले स्थाई नियुक्तिलाई मात्र कर्मचारी मान्छ) पाँच वर्ष सेवा अवधि पुगेको दाबी गरेको छन् । तर, त्यसले मान्यता पाउने अवस्था देखिँदैन। तत्कालिन उपकुलपति डा. वाग्लेलाई दबाब दिएर सह-प्राध्याकको थप जिम्मेवारी लिएपनि त्यसलाई सह-प्राध्याकमा बढुवा भएको मान्ने आधार छैन। सोही पत्रको आधारमा नेपाल सरकारसँग सह-प्राध्याकको बायोडाटा बुझाएर नियुक्तिको मापदण्डविपरीत उपकुलपतिमा अवैध रूपमा नियुक्ति लिएको प्रस्ट देखिन्छ ।

उपकुलपति रावलले जालसाजीपूर्ण नियुक्ति लिएकाले उनलाई जालसाजीमा समेत मुद्दा लगाउनुपर्ने स्वास्थ्यका अधिकारीहरु बताउँछन् ।

यता प्रतिष्ठानका रजिष्ट्रार निपेद्र महत पनि प्रतिष्ठानको कानुन बमोजिम नियुक्तिका लागि योग्य देखिँदैनन्। आर्थिक र प्रशासनिक अनुभव भएका व्यक्तिलाई रजिष्ट्रार बनाउनु पर्नेमा राजनीति गरेर हिडिरहेका व्यक्ति महतलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजिष्ट्रारको जिम्मवारी दिइएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार निपेन्द्र महत

अझ रोचक प्रशंग त उनलाई ब्याक डेटमा निर्णय गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा नियुक्त गरिएको थियो । सर्वोच्च अदालतले हटाएका तत्कालीन् स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबाहदुर तामाङले हटिसकेपछि पदमा रहँदैको मिति राखेर कर्णालीको रजिष्ट्रारमा एमाले कार्यकता महतलाई नियुक्ति गरेको तथ्य यसअघि नै स्वास्थय लाइभले खुलासा गरिसकेको छ ।

रजिष्ट्रार महत पूर्व अर्थ राज्यमन्त्री बलबहादुर महतका छोरा हुन् । महेश बस्नेत नेतृत्वको युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष रहेकाले उनलाई सीधै कर्णाली प्रतिष्ठानको रजिष्ट्रार बनाइएको हो ।

नियुक्ति मापदण्डमा कुनै पनि विषयमा उच्च शिक्षा हासिल गरी सम्बन्धित क्षेत्रमा ५ वर्ष सेवा गरेको लेखे तापनि महतले उच्च अध्ययन पश्चात पूर्णकालिन रूपमा राजनीति गरेका थिए । उनीमाथि सुर्खेतमा जग्गा प्लटिंग व्यवसाय गरी करिब २ करोड डुबेर विभिन्न ठेक्कापट्टा सेटिङको काम गर्ने गरेको आरोपसमेत लाग्दै आएको छ ।

अनुभव नै नभएका र त्यो सम्बन्धी काम नै नगरी युवा संघको राजनीतिमा संलग्न महतलाई रजिष्ट्रार बनाएर प्रतिष्ठानलाई राजनीतिक भर्ति केन्द्र बनाइएको छ । उनको नियुक्तिले प्राज्ञिक संस्थाकोसमेत खिल्ली उडाइएको स्वास्थ्यका अधिकारीहरु बताउँछन् ।

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com